Prakash Adhikari March 22, 2019

दोहा(कतार),८ चैत्र । एएफसी यू–२३ च्याम्पियनशिपको छनोट अन्तर्गत समूह चरणको पहिलो खेल आज नेपाल र ओमानबीच हुँदैछ । खेल बेलुका ७ : ४५ मा  दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ए मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू–२३ च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

सन २०२० को जापानको टोक्यो ओलम्पिकको क्वालिफाई राउण्डको रुपमा पनि लिइने यो छनोट चरणमा एशियाली मुलुकहरुलाई दुई क्षेत्रमा विभाजन गरिएको छ । एशियाको पश्चिम,केन्द्रीय र दक्षिण क्षेत्रका २३ देशलाई एक क्षेत्रमा राखिएको छ भने पूर्वी एशियाका २० देशलाई एक क्षेत्रमा राखेर समूह विभाजन गरिएको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीबिरुद्ध नेपालले दवावरहित भएर खेल्ने बताए । ‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं, सकारात्मक नतिजाको अपेक्षा गरेका छौं ।’

प्रशिक्षक महर्जनले खेलाडीहरु स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए । प्रतियोगिताका लागि मंगलबार राति मात्र कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको छ ।

प्रशिक्षक महर्जनले २३ मध्येबाट उत्कृष्ट ११ तय गर्न कठिन भएको बताए । ‘अभ्यासमा खेलाडीहरुले एक से एक प्रदर्शन गरिरहेका छनु, मलाई सेट तयार पार्न पनि कठिन भइरहेको छ, जुन सकारात्मक कुरा पनि हो,’ महर्जनले भने ।

उता ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं । हिजो मात्रै हाम्रो राष्ट्रिय टोलीले अफगानिस्तानबिरुद्ध ५–० को जित हासिल गरेको छ । टिममा धेरैजसो नयाँ अनुहार छन् । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन्,’ उनले भने ।

प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको प्रष्ट पारे । उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टिम होइन ।’

बलियो टिम ओमानबिरुद्ध नेपालले स्वभाविक रुपमा रक्षात्मक खेल्नेछ । काउन्टर एट्याक र सेट पिस गोलको अवसरमा नेपालको ध्यान केन्द्रित छ । फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ ।

यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट आमने सामने हुँदैछन् । सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन् । सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।

 

Share Now

Leave a comment.