Prakash Adhikari March 23, 2019

 

काठमाडौं, ९ चैत्र । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता हेमन्तप्रकाश ओलीलाई पक्राउ गरिएको नेपाल प्रहरीले दावी गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरो र अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई काभ्रेबाट पक्राउ गरेको अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभएको छ ।

ओलीसंगै धर्मराज राजबाहक,वेद घिमिरे,लोकेन्द्र खड्का, ललित लामा, सञ्जीव कार्की, शंकर अधिकारी, विजय श्रेष्ठ र रामकृष्ण खतिवडा पनि पक्राउ परेको प्रहरीको दाबी छ । उनीहरु सबैलाई गाडीमा भाग्न लागेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।

चैत्र ५ गते मंगलबार साँझ काभ्रेको रोशी खोला साँघुमा भएको प्रहरीको सर्चमा पनि विप्लवका ५ कार्यकर्ता पक्राउ परेको बताइएको छ । त्यतिबेला ओली प्रहरीको घेरा र नजरबाट फुत्कन सफल हुनुभएको थियो ।

विप्लब नेतृत्वको माओवादीको तेस्रो नम्बरमा रहनुभएका ओली नेकपाको मध्यक्षेत्र इन्चार्ज समेत रहेको बताइन्छ । उहाँसहित अग्रपंक्तिका कार्यकर्ताहरुको गिरफ्तारी पछि विप्लव नेतृत्वको नेकपा माओवादीलाई  मध्यक्षेत्रको संगठनमा ठूलो क्षति भएको बुझिएको छ ।

नेता ओलीसहितका कार्यकर्ताहरुलाई नख्खुस्थित एनसेल टावरमा बम विष्फोट गराई धनजनको क्षति गराएको आरोप छ ।

नख्खु विष्फोटनको जिम्मा विप्लब नेतृत्वको नेकपा माओवादीले लिएको छ ।

 

Share Now

Leave a comment.