Prakash Adhikari March 23, 2019

 

नयाँदिल्ली(भारत),९ चैत्र(बीबीसी) । भारतको सत्तारुढ भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारको पहिलो सूची सार्वजनिक गरेको छ।

भारतमा लोकसभाको चुनाव आउँदो एप्रिल ११ मा शुरू भई मे १९ मा सकिनेछ।

बिहीवार अबेर राति बीजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री र पार्टीको केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १८४ जना उम्मेदवारबारे टुङ्गो लगाएका हुन्।

सूची सार्वजनिक गरिनुअघि बीजेपीका कैयौँ ठूला नेता त्यसमा नसमेटिने अड्कलबाजीहरू भइरहेका थिए।

अटेनन् आडवाणी

तर जेपी नड्डाले उम्मेदवारहरूको घोषणा गर्न थालेपछि पार्टी अध्यक्षको नाम आउँदा धेरैजना आश्चर्यमा परे। अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव लड्नेछन्।

बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी गान्धीनगरबाट निर्वाचित वर्तमान सांसद हुन्।

शाह राज्यसभाका सदस्य हुन् र पहिलो पटक उनी लोकसभाका लागि उठ्दैछन्।

उम्मेदवारहरूको सूचीमा आडवाणीको नाम छैन। नड्डाले त्यसबारे केही भनेनन्, तर आडवाणीलाई बीजेपीले पाखा लगाएको बुझ्न सकिन्छ।

आडवाणी
वरिष्ठ नेता आडवाणीलाई नसमेटिएकोमा त्यसप्रति असन्तुष्टियुक्त एउटा ट्वीट विपक्षी कांग्रेस आईका प्रवक्ता रणदीप सिंह सुरजेवालाले गरेका छन्।

बीजेपीले उत्तर प्रदेशको कुल ८० सीटमध्ये अहिलेलाई २८ मा उम्मेदवार घोषणा गरेको छ। जसअनुसार बहालवाला छ जना सांसदलाई सूचीमा समेटिएको छैन।

त्यसमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष मुरली मनोहर जोशीको पनि नाम छैन। यसको अर्थ उनलाई पनि पाखा लगाइएको छ।

मोदी फेरि वाराणसीबाटै
प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि वाराणसीबाट प्रतिस्पर्धा गर्ने भएका छन्।

मोदीविरुद्ध भीम आर्मीका संस्थापक चन्द्रशेखर आजादले चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका छन्।

स्मृति ईरानी
उनले कांग्रेस आई र अरू पार्टीहरूलाई पनि समर्थनका निम्ति आह्वान गर्ने बताएका छन्।

हालै कांग्रेस आईकी महासचिव सोनिया गान्धीले आजादसँग भेटघाट गरेकी थिइन् र सो क्रममा उम्मेदवारीबारे पनि कुराकानी भएको थियो।

गृहमन्त्री राजनाथ सिंह लखनऊबाट, स्मृति ईरानी अमेठीबाट र विदेश राज्यमन्त्री जनरल वीके सिंह गाजियाबादबाट चुनावमा उठ्नेछन्।

स्मृति ईरानीको सामना कांग्रेस आईका अध्यक्ष राहुल गान्धीसँग हुनेछ। हेमा मालिनी मथुराबाटै उठ्नेछिन्।

केन्द्रीय संस्कृतिमन्त्री महेश शर्मालाई नोएडाबाटै उठाइएको छ। अर्का केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाटै उठ्नेछन्।

जानकारहरूका अनुसार यसपटक सीटको बाँडफाँट विधानसभा चुनावको परिणामलाई ध्यानमा राखेर गरिएको छ। त्यस्तै नेताहरूको कामलाई पनि हेरिएको बताइएको छ।

Share Now

Leave a comment.