Prakash Adhikari March 24, 2019

 

सानोठिमी(भक्तपुर),१० चैत्र । देशमा संघीय शासन प्रणाली लागू भएपछि पहिलो पटक प्रदेश सरकारको व्यवस्थापनमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सञ्चालन हुँदैछ ।

बिहान ८ बजेबाट शुरु हुने परीक्षाका लागि सबै विद्यार्थीहरु अभिभावकसहित परीक्षा केन्द्रमा पुगीरहेका छन् । तीन घण्टाको समयावधि निर्धारित गरिएको परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले परीक्षाको सबै तयारी पूरा भैसकेको बताउनुभएको छ । उहाँले यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभएको छ ।

चैत्र २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षामा सहभागी विद्यार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट १ लाख ६ सय २ विद्यार्थी सहभागी हुँदैछन् भनेसबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ विद्यार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी सामेल हुनेछन् ।

परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । त्यति नै संख्यामा केन्द्राध्यक्ष र ३ हजार १ सय ६७ सहकेन्द्राध्यक्ष तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन र उत्तरपुस्तिकाको सुरक्षाका लागि २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरिरहेको जानकारी दिनुभएको छ ।

परीक्षाफल प्रकाशनको जिम्मेवारी भने बोर्डले लिएको छ । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो ।यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको छ । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

Share Now

Leave a comment.