Prakash Adhikari March 24, 2019

नविन सिं खड्का/बीबीसी विश्व सेवा

काठमाडौ,१० चैत्र(बीबीसी) । हिमनदीहरू पग्लिएसँगै सगरमाथामा रहेका आरोहीका शवहरू सतहमा देखिन थालेको भन्दै आरोहण सञ्चालकहरू चिन्तित देखिएका छन्।

सर्वोच्च शिखरको आरोहण शुरू भएयता झण्डै तीन सय आरोहीले सगरमाथामा ज्यान गुमाएकामा दुई तिहाइ अझै त्यहीँ बरफ र हिउँमा पुरिएको ठानिएको छ।

आरोहण हुने वसन्त याम शुरू भइरहँदा उत्तरी चिनियाँ मोहडातर्फ रहेका त्यस्ता शवहरू हटाउन थालिएको छ।

अहिलेसम्म ४,८०० आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।

“बढ्दो विश्वव्यापी तापमानका कारण हिउँका सतह र हिमनदी छिटोछिटो पग्लिरहेका छन् र थुप्रैवर्षदेखि त्यहाँ पुरिएका शवहरू पछिल्लो समय सतहमा देखिन थालेका छन्,” नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने।

“पछिल्ला वर्षमा ज्यान गुमाएका केही आरोहीका शव हामीले तल झारे पनि पुराना शव भने बल्ल बाहिर देखिन थालेका छन्।”

सगरमाथामा सरकारी सम्पर्क अधिकृतका रूपमा रहेका एक अधिकारी भन्छन्, “म स्वयम्‌ले पछिल्ला वर्षमा झण्डै १० वटा शव हिमालको विभिन्न भागबाट निकालेको छु र बढीभन्दा बढी अहिले देखिएका छन्।”

एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपाल (इओन)का अधिकारीहरूले आरोहणको यस यामका लागि सगरमाथा र लोत्से हिमालका माथिल्ला शिविरबाट सबै डोरीहरू तल झारे पनि शवका हकमा त्यो सहज नहुने बताउँछन्।

उनीहरूले त्यसका लागि नेपालको कानुन समेत एउटा चुनौती रहेको बताउँछन्।

जसका अनुसार सरकारी निकायको संलग्नता विना शव तल झार्न सकिँदैन।

सगरमाथा क्षेत्र
“यो विषयलाई सरकार र पर्वतारोहण उद्योग दुवैले प्राथमिकतामा राख्नुपर्छ,” इओनका अध्यक्ष डम्बर पराजुलीको भनाइ छ।

“तिब्बततर्फ उनीहरूले त्यसो गर्न सक्छन् भने हामीहरूले पनि यतापट्टि गर्न सक्छौँ।”

छरपस्ट शव
सन् २०१७ क्याम्प वानभन्दा माथि एकजना मृत आरोहिको हात देखिएको थियो।

पर्वतारोहण सञ्चालकहरूका भनाइमा उनीहरूले त्यसलाई हटाउन व्यावसायिक शेर्पाहरूलाई खटाए।

सोही वर्ष खुम्बु हिमनदीको सतहमा अर्को शव देखियो।

खुम्बु आइसफलका रूपमा समेत जानिने त्यस ठाउँमा पछिल्लो समय सबैभन्दा धेरै शवहरू रहेको आरोहीहरू बताउँछन्।

सतहमा शवहरू देखिएको अर्को ठाउँ क्याम्प फोर क्षेत्रमा हो। साउथ कोल समेत भनिने त्यो ठाउँ तुलनात्मक रूपमा केही चौडा छ।

“पछिल्ला केही वर्षमा शवका हात र खुट्टाहरू आधार शिविरमा समेत देखिएका थिए,” त्यस क्षेत्रमा सक्रिय एक गैरसरकारी संस्थाका एक अधिकारीले बताए।

“हामीले आधार शिविर र आसपासमा हिउँको सतह घटिरहेको देखेका छौँ, शवहरू खुला देखिनुको कारण समेत त्यहीँ हो।”

पातलिँदै हिमनदी

थुप्रै अध्ययनहरूले समग्र हिमालय क्षेत्रमा जसरी सगरमाथा क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको र पातलिँदै गएको देखाउँछन्।

सन् २०१५ मा भएको एक अध्ययनका अनुसार हिमाल चढ्नुअघि तर्नुपर्ने खुम्बु हिमनदीमा रहेका पोखरीहरू हिउँ छिटोछिटो पग्लँदा फैलिनुका साथै जोडिएर ठूला भएका पाइएका थिए।

खुम्बु हिमनदि
सन् २०१६ मा नेपाली सेनाले सगरमाथा नजिकैको इम्जा हिमतालमा पानीको सतह बढेर खतराको सङ्केत देखाएपछि त्यहाँ कुलो बनाएर पानीलाई निकास दिइएको थियो।

अध्यययनकर्ताहरूको अर्को टोलीले गत वर्ष खुम्बु हिमतालको हिउँ सोचिएभन्दा बढी तातो बन्दै गएको फेला पारेका थिए।

इम्जामा पानीको सतह घटाइयो

ब्रिटेनको लिड्स र अबअरिस्विथ विश्वविद्यालय समेत संलग्न उक्त अध्ययनमा त्यहाँको हिउँमा मात्र माइनस ३.३ डिग्री सेल्सियसको न्यूनतम तापक्रम रेकर्ड गरिएको थियो।

सबैभन्दा चिसो हिउँ समेत औसत वार्षिक वायुको तापक्रमभन्दा २ डिग्री तातो थियो।

कतिपय शवहरू खुम्बु हिमनदी चलायमान हुँदा समेत सतहमा देखिएको पर्वतारोहीहरू बताउँछन्।

“हिमनदी चलायमान भइरहँदा हामीले बेलाबेलामा शवहरू देख्नेगरेका छौँ,” नेपाल न्यासनल माउन्टेन गाइड एसोशिएशनका उपाध्यक्ष छिरिङ पाण्डे भोटे बताउँछन्।

“तर धेरैजसो आरोहीहरू मानसिक रूपमा शवहरू देखिने अवस्थाका लागि तयार हुन्छन्।”

शवका ‘चिह्न’

माथिल्ला उचाइमा रहेका कतिपय त्यस्ता शव आरोहीका लागि ठाउँहरू चिन्ने सङ्केतका रूपमा काम गर्ने गरेका छन्।

‘ग्रीन बुट्स’ नाम दिइएको एउटा त्यस्तो सङ्केत चुचुरो नजिकै छ।

ढुङ्गामा आड लागेर ज्यान गुमाएका एक आरोहीको हरियो जुत्ता अझै चुचुरोतिर सङ्केत गर्नेगरी उनको खुट्टामा छ।

कतिपय आरोहण विज्ञहरूले उक्त शव पछि त्यहाँबाट हटाइएको बताएका छन्। नेपाल पर्यटन बोर्डका अधिकारीहरू भने अहिले त्यसको अवस्थाबारे स्पष्ट पार्न सकेनन्।

सगरमाथा क्षेत्र
माथिल्ला शिविरमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुने गर्छ।

विज्ञहरूका भनाइमा त्यो ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म लाग्छ।

“सबैभन्दा चुनौतीपूर्ण शव निकाल्ने काम ८,७०० मिटर अर्थात् चुचुरो नजिकैबाट भएको थियो,” एनएमएका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले भने।

“शव पूरै जमेको थियो र त्यसको तौल १५० किलो पुगेको थियो। त्यो निकै उचाइको कठिन भागबाट निकाल्नु परेको थियो।”

विज्ञका भनाइमा हिमालको उक्त शवलाई के गर्ने भन्ने विषय समेत निकै व्यक्तिगत हो।

“धेरै पर्वतारोहीहरू यदि मरे भने हिमालमै छाडियोस् भन्ने ठान्छन्,” पर्वतारोहणबारे लेखिरहने चर्चित आरोही एलन अर्नेट सुनाउँछन्।

“त्यसैले मृतकका परिवारले नचाहेसम्म वा हटाउनै आवश्यक नपरेसम्म त्यसो गर्नु उनीहरूप्रति निकै असम्मान दर्शाउनु हुनेछ।”

Share Now

Leave a comment.