Prakash Adhikari March 30, 2019

काठमाडौं,६ चैत । दुई तिहाईको बामपन्थी नेतृत्वको संयुक्त सरकारले देशमा विकासको लागि आवश्यक वैदेशिक लगानीे जुटाउन आयोजना गरेको दुई दिने नेपाल लगानी सम्मेलन शनिवार राजधानीमा सम्पन्न भएको छ ।

विश्वका ४० देशका लगानीकर्तालाई भेला गरि सम्मेलनमा प्रस्तुत गरिएका ७७ मध्ये १६ परियोजनामा १७ जना सहभागी लगानीकर्ताले चासो दिएर आवेदन गरेका छन् ।

बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् ।

आवेदन परेका परियोजनामा भक्तपुरमा सम्मेलन केन्द्र, लुम्बनीमा मेट्रोनिटी सेन्टर, वीरगञ्जमा लजिस्टिक सेन्टर बनाउने आयोजना छन् । यस्तै पश्चिम सेती र तमोर जलविद्युतमा आवेदन परेको छ ।

सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना ‘लगानीकर्ताका सामु प्रस्तुत गरिएको थियो । यी आयोजनाहरुमा आवेदन दिने समय २० अप्रिलसम्म छ । तर यस पटक सहभाागीहरुको रुचि स्पष्ट रुपमा प्रकट भएको देखिएको छैन ।

दुई बर्ष पहिले नेपाली कांग्रेस सहभागी भएको तात्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संयुक्त सरकारको पालामा भएको नेपाल लगानी सम्मेलनका सहभागीहरुले १३ अर्ब ५१ करोड डलर बराबरका आयोजनामा लगानी गर्ने आशय पत्रमा हस्ताक्षर गरेका थिए । जुन तात्कालिन मूल्यमा १४ खर्ब ४६ अर्ब नेपाली रुपैया बराबर रहेको थियो ।

१५ वटा समझदारी

लगानी सम्मेलनको अवसर पारेर नेपालमा लगानी सम्बन्धी १५ सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसमा पहिले नै लगानीको प्रतिबद्धता भएका आयोजनाहरुका विभिन्न पुरक संझौता पनि छन् ।

यो लगानी सम्मेलनको अवसर पारेर चौधरी ग्रुपले चार वटा समझदारी गरेको छ । जसमा टेलिकम, सोलार र लजिस्टिकमा विदेशी कम्पनी भित्र्याउने छन् भने प्रदेश २ सँग सोलार प्लान्ट राख्ने सम्झौता भएको छ । यी सबै नयाँ हुन् ।

यस्तै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतको सतलज जलविद्युत निगमलाई कर्जा दिन भारतको स्टेट बैंक अफ एण्डिया र नेपालको एभरेष्ट तथा नविल बैंकले सम्झौता गरेका छन्। यो आयोजना कार्यान्वयनमा गैसकेको आयोजना हो ।

त्यसरी नै बाराको सिमरामा सार्वजनिक निजी साझेदारीको रुपमा विशेष आर्थिक क्षेत्र विकास गर्न लगानी बोर्ड र विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय वित्त निगमबीच समझदारी भएको छ । बनेपामा हिमालय बुटिक, ग्रिन वेयर हाउस लगायतको समझदारी पनि भएको छ ।

यस्तै नेपालको पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यले गैरआवासीय नेपाल संघ (एनआरएनए) ले करिब १० अर्ब रुपैयाको ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउने सम्झौता गरेको छ ।

विगतमा भन्दा बढी सुव्यवस्थित ढंगले लगानीका लागि आवश्यक ऐन तथा कानूनहरुमा समेत आवश्यक संशोधन गरेर लगानीका लागि संभाव्य परियोजनाहरुको पूर्व संभाव्यता समेत अध्ययन गरेर लगानीकर्ता सामु प्रस्तुत गर्दा समेत यसपटक लगानी कर्ता पर्ख र हेरको मनस्थितिमा रहेको प्रतित भएको छ ।

यद्यपी अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलन विदेशी लगानीकर्ताहरुको लागि नेपाल पनि लगानीको आकर्षक गन्तब्यका रुपमा प्रस्तुत गर्न सफल भएको दावी गर्नुभएको छ । नेपालमा स्थिर सरकार रहेको,शान्ति सुरक्षाको अवस्था राम्रो रहेको , लगानीको प्रतिफल लैजान सहज भएको र विदेशी लगानीको आवश्यकताको विषयमा सबै राजनीतिक दलहरुमा मतैक्यता रहेको सन्देश दिन यो सम्मेलन सफल भएको उहाँको तर्क छ ।

https://twitter.com/CoSTransparency/status/1111573378962460672

उहाँले लगानीकर्ताले लगानी गर्दा आफूले पनि धेरै अध्ययन गर्ने भएकोले सम्मेलनको समापनका क्रममा भएका सम्झौताहरु सुरुवात मात्र भएको उल्लेख गर्नुभएको छ ।

सम्मेलनको समापनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ता र लगानीलाई सुरक्षित बनाउदै नेपालमा व्यवसाययोग्य वातावरण सिर्जना गर्न आवश्यक पर्ने नीतिगत सुधार गर्न सरकार तयार रहेकोले लगानीकर्ताहरु यो सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल भएकोमा कन्भिन्स हुनुभएको दावी गर्नुभयो । उहाँले आगामी दिनमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन यो सम्मेलन कोशेढुंगा हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

Share Now

Leave a comment.