Prakash Adhikari April 4, 2019

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसका बहुमत जिल्ला सभापतिहरूको बुधबारदेखि काठमाडौंमा भएको भेलाले पार्टी नेतृत्वको तीन बर्षे कार्यकाल र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको एक बर्षे कार्यकालको समीक्षा गर्दै संगठनलाई सबल र जनमुखी बनाउन केन्द्रीय कार्य समितिसमक्ष सुझावहरु पेश गर्ने भएको छ ।

कांग्रेसका जिल्ला सभापतिहरूको बुधबारको बैठकले बारा र पर्साका आँधी बेहरी पीडितहरुलाई सघाउने निर्णय पनि गरेको छ । बैठकले सो आँधीबेहरीमा परेर जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।

बैठकले नेपाली कांग्रेस नै आम नागरिकको दुःख सुखको साथी भएकोले प्राकृतिक तथा आकास्मिक विपत्ति आईपर्दा पार्टी पडि.त परिचालित गरी सहयोग गर्नपर्ने निश्कर्ष पनि निकालेको छ ।

भेलाले नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार गठन भएयता संगठित रुपमा संविधानको उल्लंघन, न्यायापालिकामाथि ठाडो हस्तक्षेप, व्यवस्थापिका संसदको उपेक्षा, विश्वविद्यालय सहित प्राज्ञिक क्षेत्रमा अनधिकृत हस्तक्षेप, प्रशासनमा राजनीतिकरण, भ्रष्टाचारजन्य काम कारबाही, अभाव महंगी लगायतका गलत कामकारबाहीका बारेमा आम नागरिकलाई जागरुक बनाउन मेची–महाकाली जागरण अभियान सुरु गर्ने निर्णय पनि गरेको छ ।

भेलाले गत पुस २८ देखि पुस ९ गतेसम्म राजधानीमा सम्पन्न पार्टीको महासमितिको बैठकको निर्णय प्रतिकूल हुने गरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्थालाई सच्याउन पनि केन्द्रीय समितिसमक्ष सुझाव दिने भएको छ ।

सभापतिहरुले यस अगाडि हेटौडामा भएको जिल्ला सभापतिहरुको बैठक र ककनीमा भएको जिल्ला सभापतिहरुको भेलाले पारित गरेका प्रस्तावहरु पनि केन्द्रीय समितिसमक्ष पुर्याउने छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत्र २३ गते शुक्रबार केन्द्रीय कार्यालय सानेपा,ललितपुरमा बस्ने भएको छ ।

नेपाली कांग्रेसको फागुन १२ गतेको बैठकले पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधि क्षेत्रीय प्रतिनिधि स्वतः हुन पाउने व्यवस्था पारित गरेको छ । बहुमत जिल्ला सभापतिहरु यसको विरुद्धमा छन् । स्वतः प्रतिनिधिको प्रावधान खारेज भए पार्टी महाधिवेशनमा गाउँ र नगरका वडा कार्यसमितिबाटै निर्वाचन लडेर आउनुपर्छ । गाउँ र नगरबाट क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुन्छ ।

कांग्रेसको विधानमा क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था छ । महाधिवेशन प्रतिनिधि भएपछि मात्रै केन्द्रीय अधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने बाटो खुल्छ ।

स्वतः प्रतिनिधि बन्ने व्यवस्थाले पार्टीका उपल्लो तहका नेताहरु जिल्ला,क्षेत्र,नगर र गाँउतहमा प्रवेशै नगर्ने भएकोले संगठन कमजोर भएको तर्क दिदै सभापतिहरुले यो व्यवस्थाको खारेजीको माग गरेका छन् ।

स्वतः प्रतिनिधित्वको व्यवस्थालाई केन्द्रीय समितिबाट असहमतिको बीचमा पारित गरिए पनि विधान छपाई भएर नआएको र केही केन्द्रीय पदाधिकारीहरुले दबाब कायम गर्न सके संशोधन हुन सक्ने संभावना रहेको बताएपछि जिल्ला सभापतिहरुले थप दबाब दिन यो भेला आयोजना गरेको बताइएको छ ।

कांग्रेसका जिल्ला सभापतिहरुले समावेशी तथा आरक्षणको सुविधासमेत नेताहरूले दुरुपयोग गर्दै आएको आरोप पनि लगाएका छन् ।

स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने चेतावनी समेत केही सभापतिहरुले भेलामा दिएका छन्  ।

पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ।

जिल्ला सभापतिहरूको भेला बुधबार ठमेलको काठमाडौं होटलमा सुरु भएको छ ।

बिहीबारसम्म चल्ने भेलामा कांग्रेसका ४३ जिल्लाका सभापति सहभागी छन् ।

Share Now

Leave a comment.