Prakash Adhikari April 5, 2019

 

अक्ल्याण्ड (न्युजिल्याण्ड),२२ चैत्र (बीबीसी) । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिद गत महिना गरिएको आक्रमणका प्रमुख आरोपितको मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश दिइएको छ।

मुद्दाको सुनुवाइका लागि मानसिक रूपमा उनी स्वस्थ्य रहे वा नरहेको अथवा विक्षिप्त रहेको कुराको विज्ञहरूले निर्क्योल गर्नुपर्ने उच्च अदालतका न्यायाधीश क्यामरुन म्यान्डरले बताए।

मुख्य आरोपितमाथि ५० वटा हत्याको र ३९ वटा हत्याको प्रयास गरेको आरोप छ।

आरोपित अस्ट्रेलियाका २८ वर्षीय नागरिक ब्रेन्टन टारेन्ट भिडिओ लिङ्कमार्फत् देखिँदा पीडितका आफन्तहरू उपस्थित भएको अदालतको कक्ष खचाखच भरिएको थियो।

आफूमाथि लगाइएका अभियोगविरुद्ध उनले निवेदन दिन पाएनन्।

न्यूजिल्यान्डमा भएको त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण थियो।

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले त्यसलाई न्यूजिल्यान्डको ‘कालोदिन मध्येको एउटा’ भएको बताउने गरेकी छन्।

उनले खबै खाले अर्धस्वचालित अस्त्र र राइफलहरूमाथि प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएकी छन्।

अदालतमा के भयो?

शुक्रवार बिहान न्यायाधीश म्यान्डरले आरोपितको स्वास्थ्य अवस्थाबारे निर्क्योल गर्न दुईवटा काम गरिने बताए।

आरोपितले ध्यानपूर्वक अदालतको सानो सुनुवाइ सुनेका थिए। तर उनले कुनै प्रतिक्रिया जनाएनन्।

उनले न्यायाधीश र वकिललाई हेर्न सकेका थिए र सुनुवाइलाई सुन्न सकिरहेका थिए।

तर अदालतमा सर्वसाधारण बस्ने स्थानबाट क्यामेरा अन्यत्र फर्काइएको थियो।

न्यायाधीशले उनलाई हिरासतमै राखिराख्न आदेश दिए र उनी जुन १४ मा फेरि अदालत उपस्थित हुनेछन्।

हमला

हमला
ओमार नबी

ओमार नबीले अल नूर मस्जिदमा गरिएको आक्रमणमा आफ्ना बुवा गुमाए।

अदालतबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामी उनलाई मार्न चाहेका होइनौँ। हामी चाहन्छौँ उनले पीडा महसुस गरून्।”

“हामी चाहन्छौँ उनलाई सजाय होओस्, ५० जनाको हत्या गरेको र कैयौँ जनालाई घाइते बनाएको अपराधका लागि सजाय।”

लिनउड मस्जिदमा भएको आक्रमणमा बाँच्न सफल तोफज्जल आलमले पनि अदालतबाहिर पत्रकारसँग कुरा गरे।

“मैले हरेक शुक्रवार देख्ने गरेका ५० जना साथीलाई गुमाएँ। आक्रमणका बेला आरोपितलाई मैले देखिनँ। ५० जनाको हत्या गरेका व्यक्तिले कस्तो अनुभव गर्दा रहेछन् भन्ने हेर्नका निम्ति म यहाँ आएको हुँ।”

क्राइस्टचर्च आक्रमणका पीडित

क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा गरिएको आक्रमणमा ५० जनाले ज्यान गुमाए।

Victims of the Christchurch mosque shootings

क्राइस्टचर्चस्थित अल नूर मस्जिद र लिनउड इस्लामिक केन्द्रमा गरिएको आक्रमणको आरोपमा मार्च १५ मा ती सन्दिग्धलाई पक्राउ गरियो।

सबैभन्दा पहिला उनी अल नूर मस्जिद पुगे, नजिकै गाडी पार्क गरे र प्रवेशद्वारबाट आक्रमण गर्दै मस्जिदभित्र प्रवेश गरे।

पुरुष, महिला तथा बालबालिकामाथि करिब पाँच मिनेटसम्म गोली चलाएको गरेको उनीमाथि आरोप छ।

 

 

हमला
लिनवुड मस्जिद

त्यसपछि उनी त्यहाँबाट पाँच किलोमिटर टाढा रहेको लिनउड मस्जिद पुगे जहाँ उनले दोस्रो आक्रमण गरे।

अहिले उनलाई न्यूजिल्यान्डको सबैभन्दा कडा मानिने अकल्यान्ड कारागारमा छुट्टै राखिएको छ।

न्यूजिल्यान्डले कसरी प्रतिक्रिया जनाएको छ?

एक हप्ता पनि नबित्दै प्रधानमन्त्री आर्डर्नले न्यूजिल्यान्डले सबै खाले स्वचालित अस्त्र र राइफलमाथि प्रतिबन्ध लगाएको घोषणा गरिन्।

नयाँ कानुन एप्रिल ११ देखि कार्यान्वयनमा आउने आफूले अपेक्षा गरेको उनले बताइन्।

आफूसँग त्यस्ता अस्त्र भएकाहरूले बुझाउन सकून् र त्यसको सट्टा अर्को खाले किन्न सकून् भनेर उनीहरूलाई समय दिइएको छ।

पीडित
आक्रमणमा ज्यान गुमाएका ५० जनाप्रति श्रद्धाञ्जलि दिन आयोजित कार्यक्रममा गत महिना २० हजारभन्दा बढी मानिस सहभागी भएका थिए।

क्राइस्टचर्चको मुस्लिम समुदायका सदस्यहरूले ज्यान गुमाउने सबैको नाम पढेर सुनाएका थिए।

ज्यान गुमाउनेमा विभिन्न देशका महिला, पुरुष तथा बालबालिका थिए।

मृतकमध्ये सबैभन्दा कान्छो व्यक्ति मात्र तीन वर्षका थिए।

Share Now

Leave a comment.