क्वाललम्पुर(मलेसिया),३० चैत्र । मलेसियामा भैरहेको आइसीसी यू–१९ विश्वकपको एशिया छनोट प्रतियोगिता शनिवार बिहान भएको खेलमा नेपाली टीमले युएईको टीमसमक्ष २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा २ सय ४७ रनको योगफल तयार पारेको छ ।

आजको खेलमा नेपालको सुरुवात त्यति जमेन । २२ रन हुँदा नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गरे । तर पवन २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो ।त्यसपछि ब्याट सम्हालेका कप्तान रोहितकुमार पौडेल १८ रन बनाएर बाहिरिदा नेपालको रन ९७ पुगेको थियो ।
नेपालको विकेट झर्ने गति त्यसपछि पनि रोकिएन । कप्तान पारस गुमाए लगत्तै नेपालले अरु १८ रन जोड्दा सन्दीप जोरा र रित गौतमलाई गुमायो । सन्दीप जोरा मात्र ४ रनमा आउट भए भने रित गौतमले ४४ रनको योगदान दिए , नेपालले १ सय १५ रन बनाउन ५ विकेट गुमायो ।
त्यसपछि भने आजको खेलमा डेब्यु गरेका हरि चौहान र भिम सार्कीले ९२ रनको साझेदारी गर्दै टीमलाई बलियो स्थितिमा ल्याए । उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरेका भिम ५३ रनमा आउट भए ।
२ सय ७ रन पुग्दा भिम सार्की आउट भएपछि नेपालले २ सय २४ रन बनाउदा थप ३ विकेट सहित ९ विकेट गुमायो । पुछारका खेलाडी कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरी र एस ढकालले मात्र दुई दुई रन बनाए ।
नेपालका लागि आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजित ६७ रनको पारी खेले ।बलिङमा युएईका रिसव मुखर्जीले ४ र मोहम्मद फराज उद्दिनले ३ विकेट लिए । बेञ्जामिन,सराफु र मैयाप्पनले पनि समान एक एक विकेट लिन भ्याए ।



















