च्याड.माई(थाइल्याण्ड), १४ बैशाख । बर्षाले धोका दिएर अण्डर १९ को नेपाली टीम विश्वकप छनोट चरणबाटै बाहिरन परेपछि नेपाली क्रिकेटप्रेमीहरुको ध्यान अहिले अण्डर–१६को खेलमा केन्द्रित भएको छ ।
आईसीसी यु १६ इस्टर्न रिजन च्याम्पियनसीप अन्तरगत नेपाली टीमले आज हंगकंगसंग सेमिफाइनल खेल्दैछ ।
समुह ए को विजेता नेपाल र समुह बी उपविजेता हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ९:१५बाट सुरु हुनेछ ।
यो खेलको विजेताले फाइनलमा पुग्नेछ ।
यस पहिलेको प्रतियोगिताको विजेत नेपाली टिम यस पटक पनि कप उचाल्ने आकांक्षासाथ मैदानमा भिडिरहेको छ ।
नेपालले समूह चरणका ३ खेलमा २ मा जित निकालेको थियो भने अन्तिम खेल बर्षाका कारण रद्द भएर अकंको साझेदारी भएको थियो ।
समूह चरणमा नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । आयोजक राष्ट थाइल्याण्डसंगको तेस्रो खेलमा नेपालले २ सय ३५ रनको लक्ष्य दिएको थियो । थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल रद्द भएकोले अंक बाँडिएको थियो ।
हङकङको भुटानसंगको खेल बर्षाका कारण रद्द भएको थियो भने उसले सिंगापुरलाई ६ विकेट र चीनलाई २ सय ७८ रनले पराजित गरेको थियो ।
यु १६ मा नेपाल र हङकङ दोस्रो पटक खेल्न लागेका हुन ।
अघिल्लो संस्करणको समूह चरणमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
हङकङले दिएको ८२ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको थियो ।
पूर्वी एशियाली मुलुकहरुमा हंगकंगको क्रिकेट टीम राम्रै मानिने भएकोले नेपाल र हड.कड.बीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।


















