चियाड.माई(थाईल्याण्ड),१४ बैशाख । थाईल्याण्डमा भैरहेको एसीसी अन्डर१६ पूर्वी क्षेत्र प्रतियोगिताको सेमीफाइनलमा हंगकंगलाई ४ विकेटले पराजित गर्दै नेपाली किशोरहरुको टोली फाइनल प्रवेश गरेको छ।
सन् २०१७ मा सम्पन्न भएको अघिल्लो संस्करणमा सिंगापुरलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो।
प्रतियोगिताको फाइनल खेल भोलि आइतबार खेलिनेछ । फाइनलमा नेपालले दोश्रो सेमीफाइनल विजेता मलेसियासंग खेल्नेछ।
शनिवारको सेमिफाइनल खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो।
हंगकंगलाई रोक्ने क्रममा नेपालका निखिलकुमार सिंहले सर्वाधिक ४ विकेट लिए। बिशाल कुमार पटेल र रमेश कुर्मीले २ ।२ तथा तिलक राज भण्डारीले १ विकेट लिए।
हंगकंग ब्याट्सम्यान आरुष भागवतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। आरुषले ८३ बलमा ४ चौका प्रहार गरेका थिए ।
नेपाललाई पनि झण्डै मुस्किल पर्यो
टस हारेर बलिड.को निम्तो पाएको नेपालसामु हंगकंगले ८७ रनको लक्ष्य दिएको थियो । ओपनर दिपक बोहरा ११, सुवास ऐयर १०, अइस भट्टराई १७, बिशाल बिक्रम केसी ७ तथा प्रशान्त महत १ रन बनाएर आउट हुँदा पहिलो ५ विकेट नेपालले ५१ रनको योगफलमा गुमाउन पुग्यो।
त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रोहन दुधराज बिक र छैठौं नम्बरका निखिलकुमार सिंहले छैठौं विकेटको लागि १८ रनको साझेदारी गर्दै नेपाललाई विजय उन्मुख गराए। रोहन दुधराज १४ रन बनाएर आउट भए।
नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। निखिलकुमार सिंहले अविजित ४ तथा कृश कार्कीले अविजित १२ रन बनाएर नेपाललाई फाइनलको यात्रामा पुर्याए ।
नेपाललाई रोक्न हंगकंगका बलर ब्रिज नाराइनले ३ विकेट तथा अहान त्रिभेदीले २ विकेट लिए।
आज भएको अर्को सेमी फाइनलमा मलेशियाले सिंगापुरलाई ५७ रनले पराजित गरेको छ ।


















