Prakash Adhikari January 3, 2018

धुन्चे( रसुवा) पौष १९ ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त भई टेन्टमुनि सञ्चालित रसुवा अस्पताल अब अत्याधुनिक भवनबाट सञ्चालन हुनेभएको छ ।
क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीबाट नवनिर्मित प्रिफ्याव अस्पताल अस्पतालको नवनिर्मित सेमिपरमानेन्ट भवनको साँचो मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रसका भूकम्प प्रतिकार्यका प्रमुख उमेश ढकालले एक कार्यक्रमका बीच नवनिर्मित भवनको स्वामित्व प्रमाणपत्र नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई हस्तान्तरण गरे। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको रसुवा जिल्ला सभापति बाबुलाल तामाङले जिल्ला अस्पताल प्रमुख डाक्टर गुण निधि शर्मालाई भवनको साँचो हस्तान्तरण गरेका थिए ।

अस्पताल भवनको साँचो हस्तान्तरण कार्यक्रममा रसुवा रेडक्रसका कोषाध्यक्ष दिनेश तामाङ, जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, गोसाइकुण्ड गाँउपालिका प्रमुख कैसाङ नुर्पु तामाङ, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत क्यानेडियन रेडक्रस, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु, पत्रकार लगायतको समुपस्थिति रहेको थियो ।

कार्यक्रममा भवन निर्माण तथा स्वास्थ्य सेवा सम्बन्धित खुला छलफल चलाइएको थियो ।

एक वर्ष अघि नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीच अस्पताल भवन र आवास गृह निर्माणको लागि सम्झौता भएको थियो । कर्मचारी आवास गृहको पुननिर्माण आगामी ३ महिनामा सम्पन्न हुने कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति र क्यानेडियन रेडक्रसका आवास तथा निर्माण सँयोजक इन्जिनियर लक्ष्मण क्षेत्रीले जानकारी दिनुभयो ।

५ वटा शौचालय सहित २५ वटा कोठे सो भवन ३ सय ६३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

अव बन्ने २६ कोठाको आवास निर्माणको सहित रसुवाको अस्पताल भवनको लागि निर्माण कम्पनीसँग ४ करोड २४ लाख ९ हजारमा सम्झौता भएको थियो ।

अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन रेडक्रसले ४२ लाख ९५ हजार रुपैया बरावरको मेडिकल उपकरणहरु समेत जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिसकेको जनाएको छ । जसमा २ वटा हेभी जेनेरेटर, अल्ट्रा साउण्ड मेशिन, एक्सरे मेसिन, इसीजी मेशिन, नेवुलाइजर मेसिन, विरामी सुत्ने वेड लगायत इन्भर्टर रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन्।
यस भन्दा पहिले नै रेडक्रसले आपत्कालीन अस्पताल हस्तान्तरणको समयमा फर्निचर लगायतका सामग्री हस्तान्तरण गरेको थियो ।आपत्कालीन अस्पतालबाट ५ हजार बढी लाभान्वित भैसकेका छन् ।

रेडक्रसले रसुवा अस्पतालको पुननिर्माणको अलावा यस अघि काभ्रे, सिन्धुली र धादिङमा उपकरण सहित ४ वटा स्वास्थ्य चौकी भवनहरु नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यस बाहेक २३ वटा स्वास्थ्य चौकी निर्माणाधिन रहेका छन् । त्यस्तै सिन्धुलीमा ४ वटा, नुवाकोटमा २ वटा र मकवानपुरमा २ वटा हेल्थ पोष्टको मर्मत सम्भारमा रेडक्रसबाट सहयोग भइसकेको छ । भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य चौकी तथा अस्पतालहरुमा गरि १५ वटा स्वास्थ्य संस्थामा आबश्यकता अनुसारका उपकरणहरु प्रदान गरिएको छ ।

Share Now

Leave a comment.