काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसले आईतबार राजधानीमा भएका श्रृखलाबद्ध विस्फोटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक समस्याको समाधानमा शान्तिपूर्ण संवादको विकल्प नभएको बताएको छ ।
आइतबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सो कुरा भन्नुभएको हो ।
उहाँले काठमाडौँका विभिन्न स्थानमा विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको जनाउदै नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धीहरुको रक्षा र विकासमा सबै शक्ति ऐक्यवद्ध ढंगले अघि बढ्नुपर्ने बेलामा भएका यस्ता घटनालाई अत्यन्तै दुःखद भन्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, बम विष्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ । नेपाली कांग्रेस लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ ।
कांग्रेस प्रवक्ता शर्माले भन्नुभएको छ , ललितपुरमा केहि महिना अघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ अनि आज काठमाडौँमा भएको घटनाले समग्रमा शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको छ ।
नेपाली कांग्रेसले हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गरेको छ ।
कांग्रेसले विस्फोटमा परि जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली सबै घाइतेहरुको सम्पूर्ण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।


















