Prakash Adhikari May 28, 2019

काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले राखेको विकास र समृद्धिको अपेक्षा साकार पार्नुपर्ने बताउनुभएको छ ।

बाह्रौँ गणतन्त्र दिवसको बुधबार दिनुभएको सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो ।

आफ्नो सन्देशमा उहाँले निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध भएको उल्लेख गर्दै भन्नुभएको छ, ‘विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।’

राष्ट्रपति भण्डारीले भन्नुभएको छ , संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात देशमा सुशासन, द्रुततर आर्थिक-सामाजिक विकाससहित समृद्धि हासिल हुन्छ भन्‍ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सबैको सामूहिक उत्तरदायित्व हो ।

उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मूख अर्थतन्त्र निर्माण गर्ने संबैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिभाराले मुर्तरूप लिनेछ भन्‍नेमा म विश्वस्त रहेको बताउदै मुलुकको समग्र विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपालीलाई आव्हान पनि गर्नुभएको छ ।

उहाँले ऐतिहासिक गणतन्त्र दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र उर्जा मिलोस् भन्‍ने शुभकामना दिंदै ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.