काठमाडौं, १४ जेठ । नेपाल धितोपत्र बोर्डले प्रदेश नं ५ रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी लगानीकर्ता सचेतता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड तथा रुकुम (पूर्व) उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जेठ १२ गते सम्पन्न सो कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, विद्यार्थी, लगानीकर्ता, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको गरी करिव १ सय ५५ जनाकोे सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोर्डका निर्देशक श्री अम्बिका प्रसाद गिरीले वित्तीय तथा पूँजी बजारको महत्व, पूँजी बजार संयन्त्र, कानूनी संरचना, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, धितोपत्र व्यवसाय, लगानीकर्ता हकहित संरक्षण तथा वस्तु विनिमय बजारको परिचय र महत्वसम्बन्धी विषयहरु समेटि पूँजी बजारका परिचयात्मक तथा आधारभूत पक्ष विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
रुकुम (पूर्व)उद्योग वाणिज्य संघका अध्यक्ष श्री यज्प्रकाश मल्लकोे सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कमला रोकाले भर्खरै छुट्टै जिल्लाको रुपमा स्थापित भएको हिमाली दुर्गम जिल्लालाई बोर्डले विशेष महत्व दिई पहिलो पटक यस्तो सचेतना कार्यक्रम संचालन गरेकोमा बोर्डलाई धन्यवाद दिदै यस जिल्लामा प्राथमिक बजारको पहुँच पुगेको बताउदै दोस्रो बजार विस्तारमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारको महत्वलाई प्रकाश पार्दै यसको विकासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै राजनीतिक स्थिरता भएसँगै अबको प्राथमिकता आर्थिक विकास भएकोले सोको लागि आवश्यक पूँजी प्रवाह गर्ने माध्यमको रुपमा पूँजी बजारको विशेष भूमिका रहने बताउनुभयो ।
त्यसै गरी जिल्ला समन्वय समितिका सभापति गजेन्द्रबहादुर ओली र निमित्त प्रमुख जिल्ला अधिकारी श्रवण कुमार शाहले समेत सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले प्राथमिक तथा दोस्रो बजार प्रवेश गर्ने माध्यम तथा तरिका, जलविद्युतको प्राथमिक निष्कासन आदि विषयमा जिज्ञासा राख्दै स्थानीयलाई सेयर खरिद गर्न बढी प्राथमिकता दिई यस क्षेत्रका लागनीकर्ताहरुलाई समेत पूँजी बजारबाट फाइदा लिनसक्ने व्यवस्था गरिनुपर्ने, गाउँ गाउँमा पूँजी बजार तथा वित्तीय साक्षरता अभियान संचालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । सहभागीबाट राखिएको जिज्ञासाहरुको संवोधन कार्यपत्र प्रस्तोता तथा बोर्ड अध्यक्षले गर्नुभएको थियो ।
कार्यक्रम समापन मन्तव्य दिदै कार्यक्रमका सभापति यज्ञ प्रकाश मल्लले यस्तो कार्यक्रमले आफूहरु लाभान्वित भएको बताउँदै दोस्रो बजार कारोवारको लागि धितोपत्र दलाल व्यवसायीको कार्यालय पनि यस क्षेत्रमा स्थापना गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन बोर्डका का.मु. सहायक निर्देशक राजुबहादुर जिसीले गर्नुभएको थियो ।
कर्णाली प्रदेशमा पत्रकारहरुलाई प्रशिक्षण
यसैबीच धितोपत्र बोर्डले यही जेठ १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशमा कार्यरत पत्रकारहरुका लागि आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशमा पत्रकारिता गरिरहनुभएका करिब ८५ जना पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बोर्डले प्रदेशमा यस्तो महत्वपूर्ण कार्यक्रम पहिलो पटक सञ्चालन गरेको साथै धितोपत्रको दोस्रो बजार कारोबार समेत सुरुआत गराउने व्यवस्था गराएकोमा बोर्डलाई धन्यवाद दिनुभयो ।उहाँले साथै पछिल्लो समयमा धितोपत्र बजारको विकासमा बोर्डले खेलेको भूमिकाको प्रसंशा गर्दे आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूँजी बजारमार्फत यस क्षेत्रको आर्थिक संवृद्धिका लागि प्रदेश सरकारले समेत विशेष पहल गरिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विशेष अतिथि नेपाल स्टक एक्सचेञ्ज लि. का महाप्रवन्धक चन्द्रसिंह साउदले यो कार्यक्रम महत्वपूर्ण रहेको र पूँजी बजार साक्षरताको लागि नेप्सेले समेत यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो । त्यसै गरी अतिथिको रुपमा बोल्दै पत्रकार महासंघ कर्णाली प्रदेशकका सचिव पवित्रकुमार शाहीले बोर्डले कर्णाली प्रदेशका पत्रकारहरुलाई लक्षित गरी आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम सुरुआत गरेकोमा विशेष धन्यवाद दिदैं यस कार्यक्रमबाट आफूहरु निकै नै लाभान्ति भएको बताउनु भयो ।
सो कार्यक्रमका चार वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । नेपालको अर्थतन्त्रको परिचयात्मक पक्षको साथै अर्थतन्त्र र धितोपत्र बजार बीचको सम्बन्धमा विषयमा बोर्ड अध्यक्ष डा. कार्कीले, बरिष्ठ आर्थिक पत्रकार श्री लोकबहादुर चापागाईले पत्रकार र सञ्चार माध्यमको कर्तव्य र गर्न नहुने काम जस्ता विषयहरु समेटिएको प्रदेशमा धितोपत्र बजार र समाचार संप्रेषण तथा लेखन विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरी बोर्डका निर्देशक अम्बिकाप्रसाद गिरीले धितोपत्र बजार, प्राथमिक बजार, दोस्रो बजार, धितोपत्र व्यवसायी जस्ता विषयका परिचयात्मक तथा आधारभूत पक्षसहित धितोपत्र बजार लेखनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेप्सेका वरिष्ठ आईटी अधिकृत प्रभावकर घिमिरेले कारोबार सञ्चालन र अनलाईन कारोबार प्रणालीको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उठेका प्रश्नहरुको प्रत्युत्तर बा सम्बन्धित कार्यपत्र प्रस्तोता तथा बोर्डका अध्यक्ष डा. कार्कीले दिनुभएको थियो ।
बोर्डका का.मु. सहायक निर्देशक राजु बहादुर जि.सि. ले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
बोर्डले यस अगाडि प्रदेश न. २ को राजधानी जनकपुरमा पत्रकारहरुको लागि यस्तै प्रशिक्षण कार्यक्रम सम्पनन गरिसकेको छ ।


















