Prakash Adhikari May 29, 2019

सानेपा(ललितपुर), १५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समतामूलक समाज निर्माणको खाँचो रहेको बताउनुभएको छ ।

१२ औं. गणतन्त्र दिवस २०७६ का अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको कुरा उल्लेख गर्नुभएको छ ।

नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले संविधानको सफल कार्यान्वयन भएर संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको बताउनुभएको छ ।

उहाँले तीन तहको ऐतिहासिक निर्वाचन पश्चात मुलुक नयाँ युगमा प्रवेश गरेको बताउदै नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई गणतन्त्र दिवसको शुभकामना दिदै लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

Share Now

Leave a comment.