Prakash Adhikari May 29, 2019

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय सरकारका तर्फबाट आज(बुधबार) अपरान्ह ४ बजे संघीय ससदको संयक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ।

सरकारको बजेटलाई दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्ने कार्यक्रम छ । यो बजेट अर्थमन्त्री डा.युवराज खतिवडाको दोस्रो र यो इनिड.को अन्तिम बजेट पनि हो । राष्ट्रिय सभाको सदस्य बन्नुभएका डा. खतिवडाको कार्यकाल यसै बर्ष सकिदैछ । पार्टीले उहाँलाई पुन: टिकट दिएन भने उहाँले अर्को बजेट पेश गर्ने अवसर पाउनुहुन्न ।

अघिल्लो पटक पार्टी घोषणापत्र अनुसारको बजेट नल्याएको खास गरि बृद्ध भत्ता र सांसदहरुको विकास कोषमा रकम नबढाएको भने चर्को आलोचना खप्नु भएका अर्थमन्त्री डा. खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटने अपेक्षा गरिएको छ।

कर्मचारीहरुलाई खुसी राख्न कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गर्ने, ज्येष्ठ नागरिक भत्ता एक हजार रुपैयाँसम्म बढाउने , स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड रकमको विकास कार्यक्रम सञ्चालन गर्न अवसर दिने र किसानहरुलाई अनुदान सहयोग दिने जस्ता विषयहरु बजेटमा समेटिने बताइएको छ ।

बजेट झण्डै १६ खर्ब हराहारीको हुने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र बजेट ल्याउन सीमा तोकेको थियो। मन्त्रालयले आयोगको सिलिङमा रहेर बजेट ल्याउन नसकिने भनेपछि आयोगले मध्यमकालीन खर्च संरचना अनुसार १५ खर्ब ७७ अर्बसम्म जान सक्ने बाटो खोलेको थियो।

बजेटका लागि १० खर्ब हाराहारी राजश्व उठाउने लक्ष्य लिइएको छ। ३ खर्ब ६६ अर्ब रुपैयाँ बैदेशिक ऋण तथा अनुदान र २ खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत स्रोत जुटाइने बताइएको छ। चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याइएपनि बैशाख अन्तसम्म जम्मा ५६ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

बजेट निर्माणमा रकमको आकारभन्दा नवीन सोंच नागरिकमुखी कार्यक्रमको बढी महत्व हुने गर्दछ । २०५१ को मध्यावधि निर्वाचन पछि बनेको मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको सरकारले ल्याएको पूरक बजेट नेपालको इतिहासमा नवीन कार्यसहितका लोकप्रिय बजेट रहेको छ । आफ्नो गाँउ आफै बनाउ कार्यक्रमसहित ल्याइएको सो बजेटले नै नेपालमा पहिलोपटक बृद्धभत्ता वितरणको कार्यक्रमको थालनी गरेको थियो । सो बजेट तात्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

Share Now

Leave a comment.