काठमाडौं, १३ आषाढ । युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले महाराजगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।
महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले बिहिबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो ।
उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले घोच्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीले आफ्नो अपराध स्वीकार गरेपछि शुक्रबार प्रहरीले महानगरीय अपराध महाशाखा टेकुमा उनलाई सार्वजनिक गरेको छ ।
रामेछाप घर भएका कार्कीले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।
कार्कीले आफूले सुईले नभएर ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् ।
उनले बाटोमा एक्ले हिड्ने युवतीहरुलाई आक्रमण गर्ने गरेका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।
केही युवतीहरुले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
कार्की पाँच वर्ष साउदी अरबमा बसेर नेपाल फर्केको पनि थाहा भएको छ ।