Prakash Adhikari June 28, 2019

सानेपा(ललितपुर), १३ आषाढ । नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजन गरी पार्टी एकतासम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिले एकीकरण पूर्व फोरममा रहेका साढे २५ हजार कार्यकर्ता छानवीन दुई हप्तामा सक्ने निर्णय गरेको छ ।

पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय, बीपीनगर, सानेपा, ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकदृ २०७५ मंसिर २८देखि पौष ८ सम्म काठमाण्डौंमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट सहभागी भएका २ सय जना महासमिति सदस्यहरुको नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई निर्देश दिने निर्णय पनि गरेको छ ।

त्यस्तै सो बैठकले उपसभापति विजयकुमार गच्छदारद्वारा चैत्र २८, २०७५ मा प्राप्त तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको नामावलीको सूची सम्बन्धित जिल्लामा पठाई देहाय बमोजिमको समितिबाट दुई हप्ताभित्र छानविन गरी निर्णय सहित केन्द्रमा पठाउन निर्देश गर्ने निर्णय पनि गरेको छ ।

यसको छानवीन गर्नका लागि नेपाली कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहेका छानविन समिति बन्ने छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारबाट तोकिएका प्रतिनिधिले सो कार्य गर्ने  र बैठकको अध्यक्षता नेपाली कांग्रेस जिल्ला सभापतिले गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको समायोजन सम्बन्धमा हालसम्म भए गरिएका कार्य प्रगतिको प्रतिवेदन यही आषाढ २२, २०७६ देखि प्रारम्भ हुने पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

Share Now

Leave a comment.