Prakash Adhikari January 4, 2018

काठमाडौं, २० पौष । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न कानुनी अड्चन भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवीलाई भेट्न बिहिबार निर्वाचन आयुक्तहरुसंगै शीतल निवास पुगेका प्रमुख आयुक्त डा.यादवले नयाँ जनादेश आइसकेको अवस्था अनुसार सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न राष्ट्रपतिको सुझाव आएपछि सो कुरा बताएका हुन् ।

प्रमुख आयुक्त सहित आयुक्तहरुको सामूहिक भेटपछि निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुसम्माननीय राष्ट्रपति भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव पनि दिनुभयो।

त्यस्तै राष्ट्रपतिले प्रदेशप्रमुखहरूको नियुक्ति नभइसकेको अवस्थामा प्रदेशसभाका सदस्यहरू निर्वाचित भएको विवरण बुझाउन तथा शपथ ग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राखेकी थिइन् ।

भेटमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्यको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भएको जानकारी गराएका थिए। उनले कानुन अनुसार दोस्रो पटक बन्दसूचीलाई समावेशी समूह अनुरूप सच्याएर ल्याउन दलहरूलाई बिहीबारसम्मको समय दिइएको समेत उल्लेख गरेका थिए।

प्रतिनिधिसभाको सम्पूर्ण नतिजा बुझाउन राष्ट्रपतिले सुझाव दिएपछि प्रमुख आयुक्त डा। यादवले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगसमक्ष संवैधानिक एवं कानुनी अड्चन उपस्थित भएको जवाफ दिएका थिए।

उनले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा नभएपनि त्यसको प्रक्रियालाई सघाउन दलदर्ता लगायतका प्रारम्भिक कार्य आयोगले गरेको बताएका थिए ।

राष्ट्रपतिले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराएकोमा आयोगको प्रशंसा गर्दै धन्यवाद दिएकी थिइन्।

राष्ट्रपतिलाई भेट्न प्रमुख आयुक्त डा. यादवसहित निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह शीतल निवास पुगेका थिए।

Share Now

Leave a comment.