Prakash Adhikari August 27, 2019

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),१० भाद्र(बीबीसी) । बहुराष्ट्रिय औषधि निर्माता कम्पनी जन्सन एन्ड जन्सन ओपिओइडको लत लाग्ने सङ्कट निम्त्याउन दोषी रहेको भन्दै ५७ करोड ७२ लाख डलर तिर्नुपर्ने आदेश अमेरिकी न्यायाधीशले गरेका हुन्।

अदालतबाट निर्णय आउनेबित्तिकै सो कम्पनीले त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ।

ओपिओइड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौँ मुद्दामध्ये सुनुवाइमा गएको यो पहिलो मुद्दा हो।

न्यायाधीश थाड बाल्कम्यानले जन्सन एन्ड जन्सन उसले उत्पादन गरेका पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिको भ्रामक प्रचारप्रसारमार्फत् सर्वसाधारणलाई ओपिओइडको कुलतमा फसाउन जिम्मेवार भएको बताएका हुन्।

जन्सन एन्ड जन्सन
“त्यस्तो कार्यले गर्दा हजारौँ ओक्लाहोमावासीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरे। ओपिओइड सङ्कट ओक्लाहोमावासीका लागि सँघारमै रहेको खतरा हो,” उनले आफ्नो आदेशमा भनेका छन्।

उनले जन्सन एन्ड जन्सनले तिर्ने रकम ओपियोइडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने बताए।

यस्तै खाले अरू दुई हजारवटा मुद्दाको सुनुवाइ आगामी अक्टोबर महिनामा ओहायो राज्यमा हुँदैछ।

मृत्युको कारक

त्यसैले पनि यो मुद्दाको परिणाम के हुन्छ भनेर अरू मुद्दाका वादी पक्षले नजिकबाट हेरिरहेका छन्।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्याङ्कअनुसार सन् १९९९ देखि २०१७ सम्म ओपिओइडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसहरूको मृत्यु भएको थियो।

सन् २००० यता झन्डै छ हजार ओक्लाहोमावासीहरूले ओपिओइड बढी मात्रामा प्रयोग गरेका कारण ज्यान गुमाएका उक्त राज्यका वकिलहरूले बताएका छन्।

Share Now

Leave a comment.