Prakash Adhikari October 20, 2019

 

काठमाडौं,३ कार्तिक । नेपाली फिल्म क्षेत्रको सबैभन्दा शक्तिशाली समुह हो- दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे । यी चार जनाको टिमअप अहिलेसम्म ‘फेलियर’ भएको छैन । ‘६ एकान ६’ बाट सुरु भएको सहकार्य हाल प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ सम्म कायमै छ । र, सबै फिल्मले हलबाट बोराका-बोरा पैसा पनि बटुलेका छन् । ‘छ’ नाम लक्की मान्ने यो टिम अहिले ‘छ माया छपक्कै’ को सक्सेस सेलिब्रेट गरिरहेको छ ।

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । समीक्षकले पनि फिल्मलाई राम्रो रेटिङ दिएका छन् । फिल्मको लाइफटाइम कलेक्सन १२ देखि १५ करोडको आसपास हुने अनुमान गरिएको छ । दीपक-दीपाको समुहले नाफाको ५० प्रतिशत लिने सर्तमा यो फिल्म गरेको हो । रोहित अधिकारी फिल्मका निर्माता हुन् । भने, दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ ।

वर्षमा एउटा फिल्म निर्माण गर्ने दीपक-दीपा टिमको नयाँ फिल्म कुन होला भन्ने जिज्ञासा धेरैलाई छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, अर्को वर्ष यो टिमले ‘छ’ नामबाटै नामाकरण गरिएको फिल्म ‘छन् गेडी सबै मेरी’ ल्याउँदैछ । फिल्मलाई ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशन गर्दैछन् । फिल्ममा उनकै लगानी रहनेछ । दीपक-दीपाको समुहले नाफाको ६० प्रतिशत लिने सर्तमा यो फिल्म गर्न लागेको हो ।

फिल्मको फागुन अन्तिमबाट छायांकनमा जाने बताइएको छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखिरहेका छन् । अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने दीपकराजको तयारी छ । तर, यसअघि नै दशैं विदा लक्षित गर्दै केही ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरेका कारण उनी अन्योलमा छन् । सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजलाई केही समय पछाडि धकल्दै दीपक-दीपाको समुहले ‘छन् गेडी सबै मेरी’ प्रोजेक्ट अगाडि सारेको हो । (फिल्मी खबरबाट)

Share Now

Leave a comment.