Prakash Adhikari October 26, 2019

 

तुलसीपुर(दाड.),९ कार्तिक ।  दाङको निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा(ख)मा यही मंसिर १४ गते उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १४ र नेकपाले ३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् ।

दाड.को क्षेत्र नं ३ प्रदेश सभा(ख)का सदस्य उत्तरकुमार वलीको कार दुर्घटनामा र वडा अध्यक्ष लक्षिमान बुढाको आकस्मिक निधन भएकाले दाङका दुई स्थानमा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राप्रपा, सामाजवादी पार्टीलगायतले चुनावी तयारी गरेका छन्।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ (ख) ले किरणबहादुर शाह, केशव आचार्य, खीमप्रसाद खराल, चुडामणी ढकाल, जगतबहादुर खड्का, भरत केसी, मदन रसिक, टीका घर्ती, शंकर डाँगी र सुरेश हमाल गरी १० जनालाई सिफारिस गरेको थियो। तर

क्षेत्र नम्बर ३ (ख)ले सिफारिस गर्दा समावेशिताको सिद्धान्तलाई मध्यनजर नगरी उम्मेदवारको लागि नाम सिफारिस गरेकोले विधानमा उल्लेख गरेको बुँदालाई मध्यनजगर गर्दै थप चारजनाको नाम उम्मेदवारका लागि सिफारिस गर्नु परेको सभापति जगत खडकाले बताउनुभएको छ। जसमा गीता पौडेल, कल्चु चौधरी, घनश्याम शेपाईली र  तारा भण्डारीलाई क्षेत्रीय कमिटीले सिफारिस गरेको हो।

नेपाली कांग्रेस दाङले क्षेत्रीय कमिटीबाट प्राप्त सिफारिस गरिएको नामावली केन्द्रीय कार्यसमितिमा पठाउने छ। कांग्रेसको विधान र केन्द्रले पठाएको पत्रमा समावेशिताको आधारमा तीनजनाको नाम मात्र सिफारिस गर्न मातहतमा निर्देशन गरेको छ।

यता नेकपाले विमला ओली, चुर्णबहादुर ओली र शोभाराम बस्नेतको नाम निर्वाचन प्रदेश कमिटीले सिफारिस गरेको छ।

राप्रपाले पार्टीका उपाध्यक्ष भुपाल रावतलाई सर्वसम्मत सिफारिस गरेको छ। समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीको सिफारिस गर्ने सम्भावना रहेको  छ।

त्यसैबीच, उपनिर्वाचनका लागि मुख्य अधिकृत सबै जिल्लामा तोकिएका छन् भने जिल्ला निर्वाचन कार्यालयले तयारी पनि सुरु गरेको छ। निर्वाचन कार्यालयले घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडा अध्यक्ष पदका लागि ५ स्थानमा मतदान केन्द्ररस्थल तोकेको छ। जसमा बाहुन डाँडा (क), बाहुन डाँडा (ख), प्रावि सानी अम्वापुर (क), प्रावि सानी अम्वापुर (ख) र प्रावि सानी अम्वापुर (ग) तोकिएको छ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) प्रदेश सभासदस्य पदका लागि हुन लागेको उपनिर्वाचनको ७७ वटा मतदान केन्द्ररस्थल तोकिएको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र दाङ ३(ख) को मतदाता ७३ हजार १ सय ७२ छन्।

Share Now

Leave a comment.