काठमाडौं , २७ पौष । मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरिरहेका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।
माओवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका विनाविभागीय मन्त्री जनार्दन शर्मा(प्रभाकर)ले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्मा वरियताको क्रममा छैठौं नम्बरमा रहेका मन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने छन् ।
बरियताको क्रममा मन्त्रिपरिषद्मा चौथो नम्बरमा रहेका मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी भएको हो । प्रधानमन्त्रीलाई भेटेर राजिनामा दिने जानकारी मन्त्री शर्माले दिएका छन् ।
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।
हाल मन्त्री परिषद्मा माओवादीबाट ९ जना विना विभागीय मन्त्री र ७ जना विना विभागीय राज्यमन्त्री कायम छन् ।
माओवादीबाट कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु शाह,टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही,आशा कोइराला र सन्तकुमार थारु मन्त्री रहेका छन ।
त्यस्तै विना विभागीय राज्यमन्त्रीहरुमा मोहम्मद जमीर हुसैन, रामसिं यादव, श्यामकुमार श्रेष्ठ, कर्ण बहादुर वि.क.,छमबहादुर गुरुड.,गोमा कुँबर र वाड.दी शेर्पाले माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गरेका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पूर्व संध्यामा भविष्यमा पार्टी एकता गर्ने लक्ष्यसहित एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विभागीय मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरी विनाविभागीय बनाएका थिए ।
निर्वाचनमा बामगठबन्धनको विजयसंगै नयाँ सरकार बनाउनको लागि प्रधानमन्त्री शेयरबहादुर देउवालाई नैतिक दवाव दिने उद्देश्यले माओवादी मन्त्रीहरु सरकारबाट हट्ने तयारी गरेको बुझिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारको निमित्त थाइल्याड प्रस्थान गर्नुपूर्व ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले एमाले र माओवादी केन्द्रको पार्टी एकता कार्यदललाई एकता प्रक्रिया टुंगो लगाउनका साथै प्रदेश सरकार गठन तथा राष्ट््िरय सभाको निर्वाचनमा उम्मेदवारीको गृहकार्य तयार गर्न निर्देशन दिएका थिए ।