काठमाडौं, २७ पौष । राखेप च्याम्पियनसिप अन्तर्गतको बिहिवार(आज)देखि आरम्भ भएको ३९ औं हुआवे राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो दिनको टिम इभेन्टमा पुरुष र महिला दुवैतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
प्रतियोगितामा पुलिसले दुवैतर्फ फाइनलमा छुट्टाछुट्टै विभागीय टोलीलाई पराजित गर्दै उपाधि हात पार्यो ।
अन्तिम प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३-० ले पराजित गरेको पुलिसले महिलातर्फ भने एपीएफसँग ३-२ को प्रतिस्पर्धात्मक खेल खेल्यो ।
पुरुषतर्फ पुलिसका लागि नम्बर १ स्यान्टु श्रेष्ठले चन्दन शाहीलाई ११-४, ११-५,११-५ को सोझो सेटमा पराजित गरे ।
दिप सावन र विनेश खनियाले पनि सोझो सेटमै जित हात पारे ।
महिलातर्फ नविता श्रेष्ठले दुवै खेल जितेपछि पुलिसको जित सम्भव भएको थियो ।
नेपाल नम्बर १ खेलाडी नविताले सिक्का सुवाल र सेलिषा खड्गीलाई पराजित गरेकी थिइन् ।
पुलिसको लागि तेस्रो जित भने एलिना महर्जनले हात परिन ।
उनले सिक्क सुवाललाई ११-७, ११-६, १२-१० को स्कोरले हराइन् ।
एपीएफका लागि सेलिशा खड्गी र अनिता महर्जनले १-१ खेल जितेका थिए ।
प्रतियोगिताको दोस्रो दिन एकल तर्फका खेल हुनेछन् ।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भैरहेको छ ।
खेलमा ३ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।