काठमाडौं,१८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को बुधबार सम्पन्न पुरुष तर्फको फुटबलमा नेपालले श्रीलंकाबीचको खेल बराबरीमा टुंगिएपछि अंक बाडिन गएको छ ।
घरेलु दर्शकले भरिभराउ दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको ३७औं मिनटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।
तर प्रतिरक्षालाई कायम राख्न नसक्दा इन्जुरी समयको ९१औं श्रीलंकाका मोहमद अकिबले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।
उनको प्रहार नेपालका गोलरक्षक बिकेश कुथुले जोगाउने प्रयास गरे तापनि बलले पोष्टको माथिल्लो दायाँ कुना च्यापेर जाली चुमेको थियो ।
मंगलबार मात्र भुटानलाई हराएको नेपालले अब थप दुई खेल माल्दिभ्स र बंगलादेशसँग खेल्न बाँकी छ ।
नेपालले आफ्नो आगामी खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । समूह चरणको आफ्नो पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई पनि गोलरहित बराबरीमा रोकेको थियो ।
बुधबारको नतिजापछि २ खेलबाट ४ अंक जोडेको नेपाल अझै शीर्ष स्थानमा छ । त्यस्तै ३ अंक जोडेको भुटान दोस्रो स्थानमा छ भने २–२ अंक जोडेको माल्दिभ्स र श्रीलंका तेस्रो र चौथो स्थानमा छ । १ अंक जोडेको बंगलादेश भने पुछारमा छ ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टोली फाइनलमा भिड्ने छन् ।


















