Prakash Adhikari December 13, 2019

 

निरञ्जन राजवंशी /बीबीसी न्यूज नेपाली

काठमाडौ, २७ मंंसिर । कुनै पनि खेलकुद प्रतियोगितामा उद्घाटन जति भव्य समापन समारोह नहुने अन्तर्राष्ट्रिय प्रचलन नै हो।

दश दिनसम्म चलेको १३ औँ दक्षिण एशियाली खेलकुद सागको समापन पनि गएको मङ्गलवार त्यसरी नै हुँदै थियो। केही सांस्कृतिक प्रस्तुति, विद्यार्थीहरूको नृत्य र नेपाली सेनाको प्रस्तुतिका माझ साग समापन हुँदै थियो।

तर अचानक दशरथ रङ्गशालाको आकाशमा अनपेक्षित नयाँ दृष्य देखियो।

आकासमा एक सय ५० वटा ड्रोनहरू उड्न थाले र तिनले आठ मिनेट लामो कलात्मक प्रस्तुति दिए। जुन देखेर सबै मन्त्रमुग्ध बने।

प्रदर्शनपछि धेरैको कौतूहलता यस्तो रह्यो: प्रविधिको प्रयोग गर्दै त्यस्तो भव्य एवं कलात्मक प्रदर्शन कसरी सम्भव भयो होला? अनि त्यो कसले गर्‍यो होला?

ड्रोन प्रदर्शन कस्तो थियो?

एकतर्फ आतिशबाजी चलिरहँदा पूर्वी प्यारापिट माथिको आकाशमा विभिन्न रङ्गमा एकपछि अर्को आकृति बन्न थाले।

सुरुमा नेपालको नक्सा देखियो र दर्शकहरू रोमाञ्चित भए। त्यो बदलिएर नेपालको झन्डामा परिणत भयो। क्रमश: ड्रोनले आकार फेर्दै गए।

आकाशमैँ पशुपतिनाथको मन्दिर बन्यो; १३ औँ सागको लोगो देखियो; अनि सागको मस्कट कृष्णसार ओलिम्पिक ज्योति बोकेर आकाशमैँ दौडियो।

ड्रोनको प्रस्तुति

फेरि आकाशमैँ गौतम बुद्धको मुहार देखियो … र अन्त्यमा धन्यवाद लेखिएको अक्षर देखिएसँगै साग समापनको घोषणा भयो।

बाङ्ग्लादेशका खेलपत्रकार मोहम्मद जुबेरले भने, “यो त ओलिम्पिक हेरे जस्तै भयो। म त निकै रोमाञ्चित भएँ।”

कसरी बन्यो नौलो प्रस्तुतिको योजना?

क्याप्टेन आउटडोर्स प्रालि नामक निजी कम्पनीले यस्तो जुक्ति ल्याएको हो।

उद्घाटन समारोहमा लेजर लाइटको प्रस्तुति देखाएका आउटडोर्सका प्रबन्ध निर्देशक अनिल थमनले समापन समारोहलाई फरक पार्ने उपाय राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल समक्ष राखे।

थमन भन्छन्, “समापनमा केही औपचारिक प्रस्तुतिमात्रै भएकोले मैले यो प्रस्ताव राखेँ।”

“बजेटको समस्या रहेछ। तर सिलवालले ड्रोनको प्रस्तुति निकै मन पराउनुभयो र ‘गो अहेड’ भन्नुभयो।”

तर समय घर्किसकेकोले अन्तिम समयमा कोरिएको योजनालाई रङ्गशालाको आकाशसम्म पुर्‍याउन भने कठिन चुनौती पार गरेको थमन बताउँछन्।

ड्रोन प्रस्तुति के हो?

ड्रोनको प्रस्तुति
ड्रोनलाई आकाशमा उडाएर चाहेजस्तो आकारमा विभिन्न रङ्गमा कलाहरू प्रदर्शन गर्ने आधुनिक प्रविधि नै ड्रोन प्रस्तुति हो।

यसमा कम्प्युटर सफ्टवेअरले प्रस्तुतिलाई नियन्त्रण गर्छ।

यसका लागि योजना अनुरूपका ड्रोनहरूलाई निश्चित स्थानमा राखिन्छ।

र कम्प्युटरमा सेटिङ गरिएकै आकारमा ड्रोनले लाइट र स्थान परिवर्तन गर्छ।

समापन समारोहमा एक सय ५० ड्रोनले प्रस्तुति दिएको हो।

कहाँबाट आयो जुक्‍ति?

अभिनेता अमिताभ बच्चन अभिनित हिन्दी चलचित्र ‘ब्रह्मास्त्र’ बाट उक्त जुक्ति लिएको थमन बताउँछन्।

उक्त चलचित्रमा लाखौँ मानिसको भिड हुने कुम्भ मेलाको दृश्य छ, जसमा यसरी नै आकाशमा ड्रोनहरु नाचेको देखिन्छ र फिल्मको नाम हावामा देखाइन्छ।

सदस्यसचिवबाट स्वीकृति पाएपछि थमनको टोलीले यस्तो प्रदर्शन गर्नसक्ने कम्पनीको खोजी थालेको थियो।

भारतका दुई समूह र सिङ्गापुरको एक समूहसँग कुरा नमिलेपछि चिनियाँ सहकर्मी क्रिस क्रिनले ग्वाङझाउमा रहेको एउटा व्यावसायिक ड्रोन प्रस्तुति गर्ने कम्पनी जुछियान तयार रहेको जानकारी दिए।

उक्त कम्पनीका लियोन चेन आठ मिनेटको प्रदर्शनका लागि राजी भए।

कम्पनी त भेटियो। तर सुरक्षाको दृष्टिकोणले सम्वेदनशील मानिने ड्रोन नेपाल ल्याउनु कठिन नै थियो।

कसरी आइपुग्यो ड्रोन काठमाण्डू?

राष्ट्रिय खेलकुद परिषद्‍ले प्रशासकीय अधिकृत इन्द्र कार्कीलाई काठमाण्डूसम्म ड्रोन ल्याउने जिम्मा दियो।

कार्की भन्छन्, “भन्सारबाट छुटाउनु मुख्य चुनौती थियो। सुरक्षा सम्वेदनशीलताको कुरा थियो। तर गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयले राम्रो समन्वय गरिदिए।”

“ती ड्रोनहरू अरूजस्तो फोटो भिडियो खिच्ने नभई प्रकाश मात्र फ्याल्ने भएकोले समस्या आएन।”

थमन भन्छन , “त्यो बेला एक-एक सेकेन्ड महत्त्वपूर्ण थियो। हामीले ड्रोन चीनबाट हिँडेदेखि ट्रान्जिट र काठमाण्डू एअरपोर्ट ओर्लेसम्मको फोटो नै मगाएका थियौँ।”

ड्रोनको प्रस्तुति

समापनको तीन दिनअगाडि १० जना चिनियाँ प्राविधिकहरूको टोली ड्रोनसहित काठमान्डू ओर्लियो।

रङ्गशालाको सकस

समापन अगाडि ड्रोनको पुर्वाभ्यास जरुरी थियो। त्यसक्रममा सबैभन्दा बढी अप्ठेरो भोग्नुपरेको थमन बताउँछन्।

रङ्गशालाको पश्चिमतिरको मैदानमा निश्चित दूरीमा ड्रोन सेट गर्ने र उडाउने प्रक्रिया थियो।

समापनको दुई दिनअगाडि ड्रोन परीक्षणका लागि तयारी गरिएको थियो। तर परीक्षणअगाडि “प्रहरीको केरकार” सुरु भयो।

नजिकै सेनाको ब्यारेक भएकोले सेनाको पनि चासो रह्यो।

प्रहरीले प्रमुख जिल्ला अधिकारीको स्वीकृतिविना ड्रोन परीक्षण गर्न नमिल्ने बताए। खेलकुद परिषद्‍का पदाधिकारीहरूको रोहवरमा प्रजिअले परीक्षणका लागि मौखिक स्वीकृति दिए।

सबै तयारी गर्दा रातको १२ बज्यो तर फेरी कालिमाटी प्रहरीको टोलीले प्रजिअको लिखित स्वीकृति आवश्यक रहेको बताएपछि परीक्षण रोकियो।

भोलिपल्ट दिनभरको प्रयासपछि प्रजिअको पत्र प्राप्त भयो र त्यही रात ड्रोनको पुर्वाभ्यास भयो।

समापनको दिन

ड्रोनको प्रस्तुति
समापनको बेलाको तनाव बेग्लै थियो।

थमन भन्छन्, “त्यहाँ केही गलत भइरहेको थियो। मैले चिनियाँ प्राविधिकको भाषा त बुझिन, तर उनीहरुको भावले भनिरहेको थियो।”

“हजारौँ दर्शकहरुले मोबाइलको इन्टरनेट चलाएकोले ड्रोनमा कनेक्सन जाम भएको रहेछ।”

अरू उपाय थिएन। उनीहरुको अनुरोधमा समापन समारोहका प्रस्तोता सञ्जीव शिल्पकारले दर्शकहरूलाई इन्टरनेट नचलाउन बारम्बार अनुरोध गरे। तर समस्या टरेन।

थमन भन्छन्, “हामीले अन्तिम तर दुस्साहसपूर्ण निर्णय गर्यौं। हामीले सबै ड्रोनलाई रङ्गशालाबाट बाहिर लैजाने निर्णय गर्यौँ।”

ड्रोनपछि देखाइने भनिएको दुईवटा सांस्कृतिक प्रस्तुतिलाई अगाडि सारियो र भत्किएको पौडी पोखरीमा ड्रोन पुर्‍याइयो।

थमन भन्छन्, “सेकेन्ड-सेकेन्डको महत्व थियो। र त्यो दुस्साहसपूर्ण निर्णयले काम गर्यो। सांस्कृतिक कार्यक्रम सकिने बित्तिकै ड्रोनले आकाशको बाटो लियो।”

थमन त्यो रोमाञ्चक क्षणका बारेमा भन्छन्, “जब ड्रोन आकाशमा नाच्न थाले, चिनियाँ लियोन चेन आफ्नी श्रीमतीलाई अँगालो हाल्दै रुन थाले।”

अनि मैले उनलाई भने, “यो पशुपतिनाथको देश हो। यहाँ केही बिग्रिदैन।”

Share Now

Leave a comment.