काठमाडौं, २७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका नेपाली खेलाडीलाई नगरका विभिन्न भागमा पुर्याएर नगरबासीको सम्मान अर्पण गर्न राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको नगर परिक्रमा कार्यक्रम मंसिरको अन्तिम हप्ताको बर्षा र कठांग्रिने जाडोले सास्तीमा परिणत भएको छ । ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागी भएका छन् ।
१३ औं दक्षिण एशियाली खेलकुदमा दिलोज्यान लगाएर राष्ट्रका लागि पदक दिलाएर देशको प्रतिष्ठा अभिबृद्धि गरेका खेलाडीहरु पैदल यात्रा गरिरहेका छन् । उनीहरु पानीले निथ्रुक्क भिजेका छन् ।
आयोजक राष्ट्रिय खेलकूद परिषद्ले खेलाडीहरुलाई उपत्यकाका तीनवटै जिल्ला परिक्रमा गराउने उद्देश्यले त्रिपुरेश्वरबाट र्यालीसहित पदक विजेता खेलाडीहरुलाई न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारी पुर्याएर पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा आएर समापन गर्ने कार्यक्रम तय गरेका छन् ।
विगत दुईदिनदेखि बिग्रेको मौसम र आज विहानदेखि पानी परेको कारण राजधानीबासीहरु सडकमा बस्ने अवस्था छैन् । चिसो बढेको कारण अधिकांश राजधानीबासीहरु कार्यालय र घरमा थन्किएका छन् । राष्ट्रको प्रतिष्ठा उचो राख्ने खेलाडीहरुको मुहारको मुस्कान हेर्ने र उनीहरुलाई सम्मान गरी हौसला प्रदान गर्ने राजधानीबासीको इच्छा खराब मौसमको कारण पूरा हुन पाएन ।
नगर परिक्रम र रथारोहण जस्ता कार्यक्रम सम्मानयोग्य व्यक्तिलाई नगरबासीसंग परिचत गराउन र उनीहरुको सम्मान लिनका लागि आयोजना गरिन्छ । हिजोदेखि नै केही दिन मौसम खराब हुने र राजधानीमा बर्षाका साथै पहाडी र हिमाली भेगमा हिँउ पर्ने मौसमको पूर्वानुमान हुँदा पनि परिषद्ले कार्यक्रम स्थगित गरेर उपयुक्त समयमा गर्ने निर्णय हुन नसक्नु चाँही दुःखको कुरा भएको छ ।
देशका अमूल्य निधि खेलाडीहरुको सम्मान गर्न खोज्दा परिषद्को कमजोरीले खेलाडीहरुको अपमान गरेजस्तो हुन गएको छ ।
१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य कुल २०६ पदक जितेको थियो ।
सरकारले पदक विजेता खेलाडीहरुलाई स्वर्णमा ९ लाख, रजतमा ६ लाख र कास्यमा ३ लाख पुरस्कार दिने घोषणा गरेको छ ।
टीममा स्वर्ण जितेका फुटबल खेलाडीलाई जनही ५ लाख रुपैया इनाम दिइने छ ।



















