Prakash Adhikari December 14, 2019

पोखरा(कास्की), २८ मंसिर । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण आइतबारदेखि सुरु हुनेभएको छ । शुक्रबारदेखि देशभर मौसम खराब भएर पानी परेपछि आयोजकले प्रतियोगिताको उद्घाटन कार्यक्रम एकदिन पर सारेका हुन् ।

पोखराको सांग्रिला भिलेज रिसोर्टमा शुक्रबार आयोजित ट्रर्फी सार्वजनिकीकरण कार्यक्रममा आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुमी लामाले प्रतियोगिताको उद्घाटन आइतबार हुने जानकारी दिनुभएको हो ।

पोखरा पल्टनका कप्तान शरद भेषावकरबाहेक सबै टिमका कप्तानको उपस्थिती रहेको सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले ट्रफी सार्वजनिक गर्नुभएको थियो ।

पोखरा प्रिमियर लिगमा विराटनर टाइटन्सको कप्तान प्रदिप ऐरी, चितवन राइनोज कप्तानमा पारस खड्का,काठमान्डौ गोल्डेन्स कप्तानमा ज्ञानेन्द्र मल्ल र पोखरा पल्टन कप्तानमा शरद भेषावकर रहनुभएको छ । बुटवल ब्लास्टर्सको कप्तानी सोमपाल कामीले र धनगढी ब्लुज कप्तान दिपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ ।
यसपटकको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ ।

प्रत्येक खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडीलाई सुविसु क्लियर टीभी र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि प्रदान गरिनेछ । जस अन्तरगत १ वर्षको लागि निःशुल्क सुविसु केवलनेट प्रा.लिले इन्टरनेट र क्लियर टीभी उपलब्ध गराउनेछ ।

आइतबार उद्घाटन हुने पोखरा प्रिमियर लिग पुस १२ गतेसम्म चल्नेछ ।

पीपीएलको पहिलो संस्करण पोखरा पल्टनले जितेको थियो ।

यसपटकको पोखरा प्रिमियर लिगमा नेपाली क्रिकेटका तारा सन्दीप लामिछाने भने सहभागी नहुने जनाइएको छ ।

अष्ट्रेलियाको बिग ब्यास लिगका कारण सन्दीपले घरेलु लिग त्याग्नु परेको बताएको छ ।

Share Now

Leave a comment.