सानेपा(ललितपुर) २ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज निर्धारित बैठक स्थगित भएको छ।
आन्तरिक विवादको समाधानको गृहकार्यमा जुटेकोले बुधबारका दिउँसो १ बजेको लागि डाकिएको बैठक स्थगत गरी पुस ४ गते सारिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष पौडेल निवास बोहोराटारमा छलफलमा रहेको र बैठकमा उपस्थिति नहुने जानकारी आएपछि बुधबारको बैठक स्थगित भएको हो ।
गत शनिबार सभापति शेरबहादुर देउवाले पनि पौडेल निवास बोहोराटार पुगेर वरिष्ठ नेता पौडेललाई फकाउने प्रयास गर्नुभएको थियो । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि यसै बैठकमा प्रस्तुत गर्नुपर्ने मुख्य माग राखेको पौडेल पक्षका मागमा वार्ता गर्न संस्थापन पक्षले पार्टी उपसभापति विमलेन्द्र निधिलाइ जिम्मेवारी दिएको छ ।
त्यस यता देउवा पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले पटकपटक छलफल गरिसक्नुभएको छ।
पछिल्लो समय सिंह निवास चाक्सीबारीमा दुई पक्षका नेताहरूको लगातार छलफल भइरहेको छ । मंगलबार भएको चाक्सीबारीको छलफलमा पनि भ्रातृ संस्था, विभाग, कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा छलफल भएको थियो।


















