काठमाडौं, ११ पौष । प्रधानमन्त्री केपी शर्मा ओली ११ औं डायलासिसको लागि शुक्रबार मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको छ।
डायलासिसका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे मनमोहन सेन्टरमा पुग्नुभएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको डायलासिस प्रक्रिया जारी रहेको बताउनुभएको छ ।
डायलासिसपछि प्रधानमन्त्री ओली बालुवाटार पर्कने र आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ।
आजै मन्त्रिपरिष्द्को बैठक बस्ने संभावना पनि बताइएको छ ।
१२ वर्षअघि भारतको मेदान्त अस्पतालमा प्रत्यारोपण गरिएका मृगौलाले नियमित काम गर्न नसकेपछि गत साउन महिनादेखि प्रधानमन्त्री ओली मृगौलाको सघन उपचारमा हुनुहुन्छ । साउनको तेस्रो साता सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्केपछि भदौ महिनामा ४ हप्ता लगाएर उहाँको प्लाज्मा फेरोसिस प्रक्रियाबाट शरीरको एण्टिबडीको मात्रा घटाइएको थियो ।
शरीरमा एण्टिबडीको मात्रा शून्यमा नपुगेसम्म पुन प्रत्यारोपण गरिने मृगौलाले काम गर्न नसक्ने र शरीरले अस्वीकृत गर्ने भएकोले सिंगापुरले प्रधानमन्त्री ओलीलाई पुन प्रत्यारोपणको सुझाब दिएन ।
प्रधानमन्त्रीको सल्लाहकार समूहले पुन प्रत्यारोपणको संभावनाकालागि अमेरिका, भारत,चीन, थाइलैण्ड,जापान जस्ता विकल्प हेरे पनि प्रत्यारोपणभन्दा डायलासिस जोखिमरहित भएकोले स्वदेशमा नै डायलासिस हुँदै आएको छ । उहाँको ग्राण्डी अस्पताल धापासी र मनमोहन सेन्टरमा डायलासिस गर्ने गरिएको छ ।


















