Prakash Adhikari December 31, 2019

काठमाडौं, १५ पौष । नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति प्रेमराज राईको ७२ वर्षको उमेरमा सोमबार राती काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

नेपाली कांग्रेसका नेता स्वर्गीय बलबहादुर राईका ज्येष्ठ सुपुत्र स्वर्गीय राईले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

पिता बलबहादुर राईसंगै प्रवासमा रहनुभएका प्रेमराज राईका श्रीमती, दुई छोरा, दुई छोरी हुनुहुन्छ । २००४ साल असार ११ गते जन्मनु भएका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आउनु भएको थियो । पञ्चालयत कालमा पटक पटक गरी उहाँ साढे तीन वर्ष जेल पर्नुभएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नु भएको छ— “नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति प्रेमराज राईको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । स्वर्गीय राईले पार्टी संगठनमा पु¥याउनु भएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आजै अस्पताल पुगी उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
त्यसैगरी पार्टीका महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशरण महत, केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरु एवं पार्टीका कार्यकर्ताहरु उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न अस्पताल पुग्नुभएको थियो ।

स्वर्गीय राईको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि मंगलबार नै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं। १ मोलीमा रहेको उहाँको पुख्र्यौली निवासतर्फ लगिएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रभाश्रीको असामयिक निधन
नेपाल महिला संघ कास्कीका जिल्ला सदस्य, क्षेत्र नं. १ नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवं २०७४ को स्थानीय निर्वाचनमा मादी गाउँपालिकामा पार्टीको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार प्रभाश्री गुरुङको गत पौष १० गते निधन हुन गएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी प्रभाश्रीको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Share Now

Leave a comment.