Prakash Adhikari January 8, 2020

 

काठमाडौं, २३ पौष । आज (बुधबार) पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा तथा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज देशैभरको मौसम बदली हुनेछ र पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

यसैगरी पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा आज मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘अबको केही घण्टापछि नै वर्षा तथा हिमपात हुने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भन्नुभयो , ‘राति पनि पश्चिम, मध्य र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

यसैगरी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ।

आइतबार र सोमबार दुई दिन मौसम खुले पनि पुनः पश्चिमी वायुको प्रभाव सुरु भएको हो। यसअघि पनि झन्डै पाँच दिनसम्म देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो।

माैसमविद् श्रेष्ठका अनुसार सोमबार साँझ पुनः भारतको उत्तर प्रदेशबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेकाले नेपालमा फेरि वर्षा र हिमपात सुरु भएको हो।

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानहरूमा वर्षा हिमपातको सम्भावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध छ।

काठमाडौंको अवस्था 
काठमाडौं उपत्यकामा पनि आज वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौंमा मंगलबार राति पनि पानी परेको छ। मंगलबार राति उपत्यकामा शून्य दशमलव ६ अर्थात् ०.६ मिलिमिटर वर्षा भएको हो।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ।

मौसमविद् श्रेष्ठका अनुसार बिहान लिइएको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्रीमा उक्लिएको हो। न्यूनतम तापक्रम बढ्दा बिहान चिसो कम हुन्छ।

तराईको मौसम 
पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गरेदेखि तराईमा हुस्सु/कुहिरो लाग्न छाडेको छ। अहिले तराईमा हुस्सु/कुहिरो नरहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

‘तर त्यहाँको मौसम पनि सफाचाहिँ छैन,’ श्रेष्ठले भन्नुभयो, ‘आकाशमा बादल लागेको छ, वर्षा हुने सम्भावना छ।’

वर्षाका कारण दिउँसो चिसो बढे पनि हुस्सु/कुहिरो नलाग्नाले बिहान भने जाडो कम हुने श्रेष्ठको भनाइ छ।

 तीन दिनको मौसम पूर्वानुमान
पुस २३ गते बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वी भूभागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

राति : देशभर सामान्य बदली रही पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

पुस २४ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक-दुई तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

पुस २५ गते शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

Share Now

Leave a comment.