Prakash Adhikari January 15, 2018

काठमाडौं, १ माघ ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पुस ३० गते आइतबार सम्पन्न दशौं साधारण सभाले आव २०७३/७४ को मुनाफाबाट शेयर धनीलाई ५५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको सिफारिसलाई पारित गरेको छ ।

साधारण सभाबाट पारित लाभांश माघ २ गते मंगलबारदेखि नै हीतग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरूलार्इ क्रमश वितरण गर्ने टेलिकमले जनाएको छ ।

कुल ८ अर्ब २५ करोड रुपैयाँ नगल लाभांशमध्ये ७ अर्ब ५४ करोड ७९ लाख २५ हजार रुपैयाँ सरकारको ढुकुटीमा जानेछ ।

अन्य सबै लगानीकर्ताले ७० करोड २० लाख ७५ हजार रुपैयाँ पाउनेछन् । यसमध्ये टेलिकमका कर्मचारीले ३३ करोड ३३ लाख रुपैयाँ पाउनेछन् भने नागरिक लगानी कोषले २४ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।सर्वसाधारण लगानीकर्ताको भागमा ३६ करोड ६३ लाख मात्र पर्न आउने देखिन्छ ।

यसरी प्राप्त गर्ने लाभांशमा ५ प्रतिशत कर लाग्नेछ ।

कम्पनीमा नेपाल सरकारको ९१ दशमलव ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारण सेयरधनीको ४ दशमलव ४४ प्रतिशत, कर्मचारीको ४दशमलव ०४ प्रतिशत तथा नागरिक लगानी कोषको ० दशमलव ०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको थियो । कम्पनीले बाँडेको लाभांश रकम सूचीकृत कम्पनीहरुले वितरण गर्नेमध्येको सबैभन्दा बढी हो । गत वर्ष पनि टेलिकमले ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि गरी १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लाग्ने समेत बताए ।

Share Now

Leave a comment.