काठमाडौं, १६ माघ । विगत एकबर्षदेखि नेतृत्वविहिन नेपाल संघको तदर्थ समितिको अध्यक्षको जिम्मेवारी सुनसरीको राजिव ढुंगानाले पाउनु भएको छ ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका ४८ बर्षे ढुंगानालाई कांग्रेस सभापति शेरबहादुर देउवाले बिहिबार अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
सभापति देउवाले अध्यक्षसहित दुई महामन्त्री पनि नियुक्त गर्नुभएको छ । उहाँले काठमाडौंका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवरलाई महामन्त्री मनोनित गर्नुभएको छ।नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा एक अध्यक्ष,नौं महामन्त्रीसहित १ सय २७ सदस्यीय केन्द्रीय तदर्थ समिति निर्माण गर्ने निर्णय गरेको थियो ।
महामन्त्रीको भागवण्डामा ३ जना पार्टी सभापति शेरबहादुर देउवाको कोटामा, ३ जना वरिष्ठ नेता रामचन्द्र पौडेलको कोटामा, २ जना कृष्णप्रसाद सिटौलाको कोटामा र एक जना पार्टी उपसभापति विजयकुमार गच्छदारको कोटामा नियुक्त गर्ने सहमति भएको जनाइएको छ ।
पौडैल, सिटौला र गच्छदारले आफ्नो भागमा पाएको महामन्त्रीसमेत सदस्यहरूको नाम फाइनल गरिनसक्नुभएको बताइन्छ ।
नेताहरुले आफ्नो कोटाका महामन्त्री र सोही अनुपातमा केन्द्रीय समितिमा रहने केन्द्रीय सदस्यहरुको नाम पठाएपछि १ सय २७ सदस्यीय केन्द्रीय तदर्थ समितिले पूर्णता पाउने बताएको छ ।
२०४६ सालको जनआन्दोलनको समयमा नेविसंघ सुनसरी जिल्ला सदस्य रहनुभएका राजिव ढुंगाना त्यसको दुई वर्षपछि उनी नेविसंघ सुनसरी जिल्ला सचिव हुनुभएको थियो।
२०५७ सालमा ढुंगानाले केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०६४ सालमा संघको कोषाध्यक्ष निर्वाचित हुनुभएको थियो। त्यसको वर्ष दिनपछि प्रदीप पौडेल नेविसंघ अध्यक्ष हुँदा ढुंगाना उपाध्यक्ष बन्नुभएको थियो।
४८ वर्षीय ढुंगाना १३ औं महाधिवेशनदेखि कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।
ढुंगानालाई पार्टीले छ महिनाभित्र १२ औं महाधिवेशन गर्ने म्याण्डेट दिएको छ ।
नेविसंघ अध्यक्ष नैनसिंह महरका पालामा ३२ वर्षे उमेरहद लागू गर्ने गरी बनाइएको विधानलाई सभापति देउवाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिले नै अनुमोदन गरिसकेको छ र एकथरी विद्यार्थी नेताहरु पार्टीले पारित गरिसकेको विधान अनुरुप ३२ बर्षभित्रको नेतृत्व हुनुपर्ने माग सहित पार्टी केन्द्रीय कार्यालयमा नै आमरण अनशनमा बसिरहेका छन् ।
तर अध्यक्षको जिम्मेवारी पाउनुभएका ढुंगाना भने आमरण अनसन बस्ने साथीहरू पनि अट्ने गरी समाधान खोज्न सकिने विश्वास गर्नुहुन्छ । उहाँका अनुसार यो विशुद्ध नयाँ नेतृत्व चयन गर्न गठिन अल्पावधिको तदर्थ समिति भएकोले यसमा रहेका पदाधिकारीहरुको नाम उमेर, जात,जाति,धर्म लिंग आदिका आधारमा टिप्पणी गर्नु सान्दर्भिक नहुने बताउनुहुन्छ ।
यसको औचित्य यसले गर्ने महाधिवेशनले सावित गर्ने उहाँको विश्वास छ ।


















