Prakash Adhikari January 31, 2020

लण्डन(संयुक्त अधिराज्य), १७ माघ(बीबीसी) ।युरोपेली सङ्घसँगको ४७ वर्षे लामो सदस्यताबाट यूके जीएमटी अनुसार राति ११ बजे अलग्गिँदै छ।

अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक हुने भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले तीन वर्षभन्दा लामो समय राजनीतिक खटपट बेहोरेको ब्रेक्जिटलाई “नयाँ बिहानी” भन्नेछन्।

ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्‍याली, उत्सव र मैनबत्ती बाल्ने कार्यक्रम गर्नेछन्।

यूकेले “सङ्क्रमणकाल” शुरू गर्ने भएकोले परिवर्तन चाहिँ खासै देखिने छैन।

कानुनहरू कायमै
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन्।

जस्तो कि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।

त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य यूकेले राखेको छ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि “देश अगाडि बढ्नुपर्थ्यो” र युरोपली सङ्घसँग “राम्रो सम्बन्ध बनाइरहनुपर्थ्यो” भनेका छन्।

विना आधार अमेरिकासँग “सम्झौत गर्न हामफाल्न नहुने” पनि उनले बताए।

उनले सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि ईयूबाट बाहिरिने दिन सबैका लागि धेरै महत्त्वपूर्ण भएको पनि बताए।

जनमतसङ्ग्रहका बेला ईयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि “आजको दिन आफ्नो देशका लागि निकै ठूलो” भएको बताएका छन्।

उनले ब्रिटेनका जनताको “रोजाइ सफल हुन्छ” भन्ने विश्वास लिएको पनि बताए।

ब्रेक्जिट पार्टी
ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भने: “अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौं। संस्थापनकोविरुद्ध लड्ने मानिसका लागि यो ठूलो जित हो।”

शुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटकपटक त्यो पछाडि धकेलिएको थियो।

“ब्रेक्जिट गर्ने” प्रतिबद्धतामा गत डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्‌मार्फत्‌ यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए।

योसँगै जनमतसङ्ग्रहपछि भएका तीनवर्षभन्दा लामो समयको राजनीतिक तर्कवितर्कको अन्त्य भएको छ।

उक्त जनमतसङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो।

ईयू समर्थक प्रदर्शनकारी
प्रधानमन्त्रीले सन्डरल्याण्ड शहरमा मन्त्रिपरिषद् बैठक गर्दैछन्।

जनमतसङ्ग्रहपछि ब्रेक्जिटको पक्षमा मतपरिणाम आएको घोषणा गर्ने पहिलो शहर सन्डरल्याण्ड नै हो।

सन् २०१६ मा ईयूबाट यूके बाहिरिनुपर्ने भन्दै अभियान चलाएका प्रधानमन्त्री जोनसनले आशावादी सन्देश दिने प्रयास गर्नेछन्।

“आजको रात भन्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो शुरूवात हो,” डाउनिङ स्ट्रिटमा खिचिएको भिडिओ सन्देशमा उनले भन्नेछन्।

“यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ। यो क्षण साँचो रूपमा राष्ट्रिय नयाँपन र परिवर्तनको हो।”

Share Now

Leave a comment.