Prakash Adhikari February 1, 2020

काठमाडौं, १८ माघ । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् ।

राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा हालै भएको अन्तिम प्रतिस्पर्धामा रोजिनाले मिस ग्ल्यामको उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन । उनलाई कार्यक्रमकी प्रमुख अतिथि हास्य साम्राज्ञी बसुन्धरा भुसालले उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर प्रदान गरेकी थिइन ।

१३ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेण्ड रनरअप धरानकी सम्झना परियार भइन ।
सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन ।

विजेताहरुलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, इलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीप्लिनकोे उपाधि हात पार्न सफल भए ।

 

प्रतियोगितामा पटकपटका अडिशनबाट सुन्दरीहरुलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लि.का अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।


उनले यस प्रतियोगितामार्फत किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको बताए ।

प्रतियोगिताको अवसरमा सञ्चार दक्षता, उद्घोषण, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगीलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेकटर सुस्मिता गोलेले जानकारी गराइन ।

अन्तिम प्रतिस्पर्धाको निर्णायकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशि शाही रहेका थिए ।

गायक बुद्ध लामा यो प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा समेत रहेका छन् । प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

Share Now

Leave a comment.