निरञ्जन राजवंशी /बीबीसी न्यूज नेपाली
काठमाडौं,१० फागुन(बीबीसी) । एउटा टोलीमा चार विदेशी खेलाडी राख्न पाउने नयाँ प्रावधानसहित राष्ट्रिय महिला लीग फुटबल प्रतियोगिता सुरु हुँदैछ।
फागुनको अन्तिम साताबाट हुने भनिएको लीगमा चारवटा नगरपालिका र तीनवटा विभागीय गरी सात टोली सहभागि हुँदैछन्। नगरपालिकाहरूले आफ्नो टोलीमा चार जनासम्म विदेशी खेलाडी खेलाउने पाउनेछन्।
लीगमा यसपालि धेरै नयाँ प्रयोग हुने देखिन्छ। फिफाको प्रावधानअनुसार राष्ट्रिय महिला लीग छ महिना लामो अवधिसम्म सञ्चालन हुनेछ।
विगतमा क्षेत्रीय टीमले प्रतिस्पर्धा गर्दै आएकोमा अहिले नगरपालिकाका टोलीलाई पनि समावेश गरिएको छ। प्रत्येक टोलीले ९१ वटा खेल खेल्नुपर्नेछ।
नेपालमा स्थापित विभागीय टोलीसँग नगरपालिकाले प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्य एन्फाको रहेको बताइन्छ।
महिला समितिकी अध्यक्ष पेमा लामा भन्छिन्, “खेलमा प्रतिस्पर्धा बढोस् भनेर छानिएका चार नगरपालिकाले अन्य नगरपालिकाबाट जति जना पनि र चार जनासम्म विदेशी खेलाडी राखेर टीम बनाउन सक्ने सहज प्रावधान राखिएको छ।”
नगरपालिकाका टोली
विभागमा बाहेक पुरुष खेलाडीको जस्तै नेपालमा महिलातर्फ क्लब फुटबलको संस्कार बसिसकेको छैन।
विगतमा अञ्चल, क्षेत्र वा प्रदेशबाट महिला टोलीहरू खेल्ने गर्थे।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले यसपालि नगरपालिकाका टोलीलाई अगाडि सार्यो। अनि उपमेयर कपको नाममा प्रतियोगिता थाल्यो।
महिला समितिकी अध्यक्ष लामा भन्छिन्, “अधिकांश नगरपालिकामा उपमेयर महिला हुने गरेकोले उपमेयर कप महिला फुटबलको अवधारणा ल्यायौँ र यो धारणा चल्यो।”
एन्फाले प्रतियोगिता खेल्न देशभरिका नगरपालिकालाई आह्वान गरेकोमा १८ वटा नगरपालिकाले उपमेयर कपमा सहभागिता जनाए।
एन्फाले प्रत्येक टोलीलाई २०,००० रुपैयाँ तयारी खर्च दिएको थियो।
अठार टोलीबीच गत असारमा भएको प्रतिस्पर्धाबाट आठ टोली छनोटमा परे।
ती आठ टोलीबीच रौतहटमा दोस्रो चरणको प्रतिस्पर्धा भयो। त्यसका उत्कृष्ट चार टोली राष्ट्रिय लीगका लागि छानिएका हुन्।
छानिएका टोली चन्द्रपुर, विराटनगर, वालिङ र चौदण्डीगढी नगरपालिका हुन्।
विदेशी खेलाडी
नगरपालिकाहरू लीगका लागि छनोट त भए। तर राष्ट्रिय टोलीका खेलाडीहरुको वर्चस्व रहेको तीन विभागीय टोली नेपाली सेना, ससश्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीसँग ती खेलाडीले समान स्तरमा प्रतिस्पर्धा गर्न सक्ने देखिएन।
समानताको प्रयासस्वरूप एन्फाले अर्को प्रयोग गर्ने भएको छ। छानिएका तिनले अन्य नगरपालिकाबाट खेलाडी ल्याउन पाउनेछन्।
त्यसबाहेक एउटा नगरपालिकाले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछ।
यो प्रयोगबाट विभागीय खेलाडीहरू पनि खुसी देखिएका छन्।
अव विगतमा जस्तै विभागका खेलाडीले पब्लिक टीमविरुद्ध गोलको वर्षा गर्न गाह्रो हुने विश्वास गरिएको छ।
राष्ट्रिय टोलीमा मिडफील्डर समेत रहेकी एपीएफकी खेलाडी अनिता बस्नेत भन्छिन्, “चार जना विदेशी टीममा भएपछि खेलमा मज्जा आउनेछ। हिजोका दिनमा एकैजना खेलाडीले १०/१२ गोल गर्ने भइरहेको थियो। अब त्यसो नहोला। प्रतिस्पर्धात्मक खेलको पर्खाइमा छु।”
९१ वटा खेल
राष्ट्रिय महिला लीगका लागि एन्फाले विश्व फुटबल महासङ्घ फिफासँग बजेट माग गर्यो।
फिफाले बजेट त दिने भयो। तर त्यसबापत प्रत्येक टोलीले कम्तिमा ९१ वटा खेल खेल्नुपर्ने र खेलअवधि छ महिनाको हुनुपर्ने सर्त राख्यो।
महिला फुटबलमा दर्शकको कमी देखिँदैन
फिफाको यही सर्त पालना गर्न एन्फाले प्रतियोगिताको ढाँचालाई लम्ब्याएको हो।
असारमा भएको उपमेयर कप र रौतहटमा भएको महिला लीग सबै लामो लीगको एउटा अङ्ग भएको एन्फाको भनाइ छ।
अब हुने राष्ट्रिय लीग तीन चरणमा हुनेछ। लीगको पहिलो चरण फागुनमा, दोस्रो चरण वैशाखमा र अन्तिम चरण जेठमा हुने जनाइएको छ।
महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भने, “कुल ९१ खेल र छ महिनाको समय लगाएर खेल भए मात्र फिफाले दिने सहयोग प्राप्त हुने भएकोले त्यसैअनुसार तालिका बनाइएको छ। तर त्यसमा विभागीय टोलीले भने ४२ खेल मात्र खेल्नेछन् भने नगरपालिकाका टोलीले ९१ खेल खेल्नेछन्।”
फिफाले महिला लीगका लागि ५० हजार अमेरिकी डलर प्रदान गरेको छ। तर लीग सम्पन्न हुँदासम्म झन्डै डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
विजेता टोलीले १५ लाख रुपैयाँ, उपविजेताले आठ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ।
तिथि
चार नगरपालिका र तीन विभागिय गरी सात टोली लीग खेल्ने तयारी गरिरहेका छन्। तर एन्फाले अझैसम्म फाइनल चरणको लीगको तालिका निकालेको छैन। त्यस्तै प्रतियोगिताका लागि स्थान पनि तय गर्न सकेको देखिँदैन।
एन्फाका प्रवक्ता किरण राईले विराटनगरमा राष्ट्रिय लीग गर्ने विषयमा छलफल भइरहेको बताए।
उनले भने, “गत माघ २६ गतेको एन्फाको बैठकले बजेट पास गरिसकेको छ। विराटनगरमा खेल हुने लगभग टुङ्गो लागिसकेको छ। तिथि भने तय हुन बाँकी छ।”
उनका अनुसार लीग डबल राउन्ड रोविनको आधारमा हुनेछ।
फिफाले खोजे जस्तो लीगको समयावधि छ महिना बनाउन त्यसो गरिएको भनिए पनि यसले खेलाडीहरूलाई आराम गर्न समय पुग्ने एन्फाको दाबी छ। नेपालमा प्रत्येक टोलीले ९१ वटा खेल खेल्नुपर्ने महिला लीग नेपालमा पहिलो पटक हुन लागेको हो।
विगतको दाँजोमा नेपालमा महिला फुटबल सक्रिय र परिणाममुखी बनिरहेको बेला नयाँ प्रतिभा खोज्न महिला लीग उपयुक्त अवसर हुने देखिन्छ।
यो अवसरलाई फिफाको बजेट खर्च गराउने तालिकामा मात्र सीमित नराखी वास्तविक खेलाडी उत्पादनमा लक्ष्यित बनाउनुपर्ने केही खेल विश्लेषकहरूले धारणा छ।