Prakash Adhikari March 10, 2020

जुरिच (स्वीजरल्याण्ड)/क्वालालम्पुर(मलेशिया), २७ फागुन(एजेन्सी) । फिफा र एएफसीले यही मार्च र जुनमा हुने कतार विश्वकप र एसियाकप छनोटका खेल स्थगत गर्ने निर्णय गरेका छन्।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै फिफा र एएफसीले सदस्य राष्ट्रहरूको आग्रह स्वीकार्दै खेल रोक्ने निर्णय गरेका हुन।

फिफाले सोमबार एक विज्ञप्ति निकाल्दै भनेको छ ‘एसियाका सदस्य देशहरूसँगको छलफलपछि हामी (फिफा र एएफसी) आउँदै गरेको एसियन छनोट र फिफा विश्वकप छनोट २०२२ स्थगन गर्ने निर्णयमा पुगेका छौं।’


सदस्य राष्ट्रहरू छनोट खेल्नका लागि एक अर्काविरुद्ध सहमत भएमा र सुरक्षाको हिसाबको अवस्थाका बारेमा फिफा र एएफसी सन्तुष्ट भएमा खेलको अनुमति दिन तयार रहेको समेत फिफाले जनाएको छ।

यसअघि फिफा र एएफसीलाई सदस्य राष्ट्रहरूले बढ्दो कोरोना संकटका कारण खेल रोक्न आग्रह गरेका थिए।

दुवै संस्थाले बैठकमा सबै राष्ट्रलाई के गर्ने भन्ने बारेमा परामर्श लिएका थिए । सोही अनुसार सोमबार फिफाले छनोट चरणका निर्धारित खेलहरु हाललाई स्थगन गर्ने निर्णय गरेको हो।

छनोट प्रतियोगिता मार्च २६ र ३१ तथा दोस्रो अन्तर्राष्ट्रिय ब्रेकपछि जुन १ देखि ९ जुनमा गर्ने कार्यतालिका रहेको थियो ।

त्यस्तै फिफा र एएफसी तुर्किमिनस्तानमा हुने फुटसल र एएफसी फुटबल च्याम्पियनसिप समेत रोक्न सहमत भएका छन्।

फिफा र एएफसीले कोरोना संक्रमणको जोखिम र जोखिममुक्त अवस्थाको मूल्यांकन गर्दै रोकिएका खेलहरूको नयाँ मितिमा खेल तालिका सार्वजानिक गर्ने जनाएका छन् ।

Share Now

Leave a comment.