Prakash Adhikari March 24, 2020

भरतपुर(चितवन) । भरतपुरको प्रदर्शनी केन्द्रस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएका एक बिरामीको मृत्यु भएको छ।

सो अस्पतालमा राखिएका वीरगञ्ज जगन्नाथपुरका ३० वर्षे युवाको मृत्यु भएको हो।मृगौला र लुपस रोगबाट पीडित बिरामीको मंगलबार बिहान साढे नौ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिनुभएको छ ।

भरतपुरकै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उनलाई केही दिनअघि ज्वरो आएपछि कोरोना विशेष अस्पतालमा ल्याएर जाँच गरिएको थियो ।

अस्पतालले बिरामीमा कोरोना भाइरसको संक्रमण आशंका गरी परीक्षणका लागि नमूना काठमाडौं पठाएर बिरामीलाई भने आइसोलेसन वार्डमा भर्ना गरी राखेको थियो । नमूना परीक्षणको रिपोर्ट आइनपुगेको अस्पतालले जनाएको छ ।

अस्पतालले काठमाडौंबाट नमूना परीक्षण रिपोर्ट नआएसम्म शवलाई हस्तान्तरण नगर्ने बताएको छ ।

बिरामीलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।

Share Now

Leave a comment.