Prakash Adhikari January 19, 2018

शीतलनिवास(काठमाडौंं), ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज अपरान्ह पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

नव नियुक्त प्रदेश प्रमुखहरुले शुक्रबार दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन।

प्रदेश प्रमुखहरुको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली पनि उपस्थित थिए।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो। सरकारले प्रदेश १ मा डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको छ ।

प्रदेश प्रमुखहरुलाई शपथ ग्रहण गराएपछि राष्ट्रपति भण्डारीले उनीहरुसंग सामूहिक कुराकानी गर्दै संविधान अनुरुप राष्टले सुम्पेको जिम्मेवारी देश र जनताको हितलाई संझेर पूरा गर्न सुझाव दिएकी थिइन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुले सम्वन्धित प्रदेशको कार्यालयमा गएर पदभार सम्हाल्नेछन् । संविधानको धारा १७९ ले प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै बैठकमा पहिलो पटक भाग लिनु अगाडि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरेको छ र प्रदेश कानुनको दफा ७५ ले प्रदेश सभाको सदस्यको शपथ ग्रहणको सम्बन्धमा यस्तो व्यवस्था गरेको छ ः

७५. सदस्यको शपथ : (१) सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष अनुसूची–२ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।

तर संविधानको धारा १८२ को उपधारा (५) बमोजिमको सदस्यले प्रदेश प्रमुख समक्ष शपथ लिनु पर्नेछ ।

(२) कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१)बमोजिमको शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रदेश सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिन अगावै प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) यस दफा बमोजिम सदस्यले शपथ लिए पछि आफूले लिएको शपथको प्रतिमा हस्ताक्षर गरी प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।

(४) कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिएकोमा सरकारी कामकाजको नेपाली भाषा र अन्य नेपाली मातृभाषाको शपथको प्रतिहरुमा हस्ताक्षर गरी प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम सदस्यले लिएको शपथको अभिलेख प्रदेश सभा सचिवालयले राख्नेछ ।

यो व्यवस्थाले प्रदेश प्रमुखले प्रदेश सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराई उनीमार्फत बाँकी सदस्यको शपथ ग्रहण गराउने र सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यको अध्यक्षता र उनले बनाएको अध्यक्ष मण्डलबाट प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना हुन जाने देखिन्छ । किनकी हरेक निर्वाचन पछि बन्ने प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने परम्परा बसाउने हो भने सभामुखबाट उपनिर्वाचनमा विजयी हुनेले बाहेक अरुले प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिबाट शपथ लिने अवस्था कहिल्यै पनि आउदैन ।

संघीय संसदको व्यवस्था  पनि यस्तै रहने गरेको छ ।

 

Share Now

Leave a comment.