काठमाडौं, २७ चैत । नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामै बसिरहेका विद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेवि संघ अध्यक्ष राजीव ढुंगानाले बुधबार प्रेस विज्ञप्ति जारी गरी देशभरि पढाइका क्रममा डेरा लिएर बसेका विद्यार्थीलाई राहत प्रदान गर्न सरकारसँग माग गनुभएको हो ।
विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत सबै किसिमका आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै ढुंगानाले‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ’ भन्ने कुराको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउनुभएको छ ।
‘देश–विदेशमा रहेका रहेका नेवि संघ मातहतका इकाईहरु तथा नेवि संघमा आबद्धसाथीहरुलाई यस विपत्तिको क्षणमा आफ्नो क्षेत्रमा रहेका विद्यार्थीहरु र सम्पूर्ण जनसमुदायको दूःखमा आवश्यक साथ–सहयोग गरी तथा आवश्यक परेकालाई आफैअग्रसर भएर राहत प्रदान गर्न आह्वान गर्दछु,’ ढुंगानाले विज्ञप्तिमा भन्नुभएको छ ।
त्यसैगरी, देशभरि सञ्चालन भएका राहत वितरण कार्यको पनि आफ्नो ढंगले अनुगमन गर्दै पाउनु पर्नेले नपाएको भए वा नपाउनु पर्नेले पाएको भए त्यस विरुद्ध खबरदारी गर्न र राहत वितरणका क्रमम केही अनियमतिता वा भ्रष्टाचार भएको भए त्यस विरुद्ध तरुन्त आवश्यक कदम चाल्न नेवि संघले आह्वान गरेको छ ।
‘बेमौसमी बाजा नबजाउने नाममा गरीब दूःखीलाई बाँड्न आएको राहतमा भ्रष्टाचार हुँदा पनि चुप लागेर टुलुटुलु हेरेर बस्नु झन् ठूलो अपराध हो,’ अध्यक्ष ढुंगानाले उल्लेख गर्नुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले समग्र विश्वलाई जकड्दै लगेको यस क्षणमा यसको संक्रमण फैलन नदिन अत्यन्त सावधानी अपनाउनु पर्ने आवश्यकता औल्याउदै ढुंगानाले भन्नुभएको छ,‘अर्कोतिर लकडाउन जस्तो सतर्कताको उपाय अपनाउँदै गर्दा यसकै कारण दैनिक जनजीवन कष्टकर नबनोस् भन्ने तर्फ पनि सचेत हुनु पर्ने अवस्था छ,।’
शिक्षा आर्जन गर्न घरदेखि टाढाका विभिन्न शहरहरुमा डेरा लिइ बसेका विद्यार्थीहरु र दैनिक ज्यालादरी गरेर जीवन–जिउने श्रमजीवी वर्गलाई लकडाउनको अवधिमा जीवन धान्न गाह्रो हुँदै गएको बताउदै ढुंगानाले यी दुई वर्गलाई पहिलो प्राथमिकतामा राखी प्रभावकारी ढंगबाट राहत वितरण गर्न सरकारसँग अनुरोध गर्नुृभएको छ ।



















