काठमाडौं, २८ चैत्र । राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको पदावधि थप गरेको छ ।
बैकको सञ्चालक समितिको बिहिबार बसेको बैठकले श्रेष्ठलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। पूर्ण सरकारी स्वामित्वको बाणिज्य बैंकको सञ्चालकमा नेपाल सरा कारको विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरु छन्।
आफ्नो पहिलो ४ बर्षै कार्यकालमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको खराब ऋण असुलीमा ठूलो सफलता पाउनुभएको थियो । यही समयावधिमा बैंक सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ। बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ५० करोड नाफा कमाएको थियो । सोभन्दा अघिल्लो बर्ष यसको नाफा ४ अर्ब ३३ करोड रहेको थियो ।
२०१३ सालमा चैनपुर नगरपालिका वडा नं १० संखुवासभामा जन्मनुभएका श्रेष्ठले त्रिविविबाट जन प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । नेपाल बैक लिमिटेडमा २०६९देखि २०७१ सम्म महाप्रवन्धकको जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठ राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। उहाँ पहिलो कार्यकालमा खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएको हो । उहाँभन्दा पहिले खुल्ला प्रतिस्पर्धाबाट कृष्णप्रसाद शर्मा बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएको थियो ।