Prakash Adhikari May 6, 2020

काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई टेलिफोन गरेर  बिशेष ध्यानाकर्षण गराउंदै  तत्काल  तीन कार्य गर्न गराउन आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार उहाँले एकै पटक धेरै संक्रमित भेटिएका बाँके जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा व्यापक रुपमा युद्धस्तरमा कोरोनाभाइरसको परीक्षण गरी सबै बासिन्दालाई सुरक्षित रहेको प्रत्याभूति गर्न तुरुन्त उपयुक्त कदम चाल्न तथा साथै देशभर पिसिआर प्रविधिद्वारा परिक्षण द्रुत गतिमा विस्तार गर्न आग्रह गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई ब्यवस्थित योजना बनाएर क्रमशः उद्दार गर्न पनि अनुरोध गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले सीमा नाकामा क्वारेन्टाइनमा बसेको महिनादिन पुगिसक्दापनि अझै कयौं नेपालीले देश आउन नपाएको स्मरण गराउंदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन पनि प्रधानमन्त्री ओलीसमक्ष आग्रह गर्नुभएको छ ।

सभापति देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य रहेकोे स्मरण प्रधानमन्त्रीलाई गराउनु भएको हो ।

उहाँले केन्द्रीय सरकारले उद्दार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेर मात्रै घर जान दिने गरि ब्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन पनि आग्रह गर्नुभएको छ ।

Share Now

Leave a comment.