सानेपा(ललितपुर),२४ बैशाख। कोरोनाभाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन अपनाइएको लकडाउनको कारण नेपालको अर्थतन्त्रलाई मन्दिमा जानबाट रोक्न सबै क्षेत्रलाई समेटेर प्रोत्साहन प्याकेज ल्याउन व्यवसायीहरुले सुझाव दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको सरकारको नीति,कार्यक्रम र बजेटसम्बन्धी अन्तरक्रियाका सहभागीहरुले यस्तो सुझाब दिएका हुन्।

कांग्रेसको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई चलायमान बनाउन र माग सिर्जना गरिरहनको लागि सबै क्षेत्रलाई समेट्ने गरी आर्थिक प्रोत्साहन कार्यक्रम ( स्टिमुलस प्याकेज) ल्याउन आवश्यक भएको बताउनुभयो ।
उहाँले विद्युतको महसूल दर २० प्रतिशतसम्म घटाएर, बैंकको ब्याजदर ५ प्रतिशतमा झार्ने बन्दोवस्त गरेर, मूल्य अभिबृद्धि करको दर १० प्रतिशतमा झारेर,आयकरमा २० प्रतिशत छुट दिएर, निर्यातमा करमा सहुलियत दिएर(भारतमा ५ प्रतिशत र तेस्रो मुुलुकमा १० प्रतिशत) दिएर उद्योग तथा व्यापार क्षेत्रमा गतिशीलता ल्याउन सक्ने बताउनुभयो । उहाँले आउने बजेट अर्थतन्त्रको पुनरुत्थान, रोजगारीको सिर्जना, ब्यवसायमैत्री श्रम नीतिको व्यवस्था, उद्योग व्यापारको पुनर्जीवन र मागको सिर्जनामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका नेपाल उद्योग परिसंघका विष्णु अग्रवालले बजेट माग सिर्जना गर्ने प्रोत्साहन कार्यक्रमसहित आउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बैंकर्स संघका ज्ञानेन्द्र ढुंगानाले लकडाउनलाई धेरै लम्ब्याउन नहुने तर्क प्रस्तुत गर्दै अर्थतन्त्रलाई खोल्दै जानुपर्ने बताउनुभयो ।
उहाँले विश्वभर वस्तु तथा सेवा उपभोगको माग घटेर मन्दितर्फ अर्थतन्त्र नजाओस भन्ने अभिप्रायले नगद प्रोत्साहन कार्यक्रम ल्याएको चर्चा गर्दै नेपालले पनि त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले राहत बैंकहरुले दिने नभई संसारभर सरकारले दिने प्रचलन रहेको र बैंकहरुले केन्द्रीय बैंकको नीति तथा निर्देशनको अधीनमा रहेर ब्याज पूँजीकरण र भुक्तानी समयको पुनर्तालिकीकरण भने गर्नसक्ने बताउनुभयो । उहाँले मौज्दातको अवस्था नहेरी पुनकर्जा दिने व्यवस्था भएमा बैंकबाट कर्जा लिएर ब्यवसाय गर्ने सबै क्षेत्र लाभान्वित हुन सक्ने पनि बताउनुभयो ।
कार्यक्रममा नाटाका अध्यक्ष अच्युत शर्माले कोरोना भाइरसको संक्रमणको विश्वव्यापी महामारीबाट सबैभन्दा नराम्रो संग प्रभावित भएको क्षेत्रमा पर्यटन क्षेत्र परेकोले यसलाई बचाउन विशेष कार्यक्रमको जरुरी भएको बताउनुभयो । उहाँले ‘सरकारमा बस्नेहरुले चिल्ला गाडी बेचेर बैंकको साँबा ब्याज तिरे हुन्छ ‘भन्ने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउदै भन्नुभयो, “व्यबसाय राम्रो हुँदा हामीले कर तिरेका छौ, संकट पर्दा हेर्ने दायित्व सरकारको हुन्छ कि हुँदैन ? ”
उहाँले कोरोना संक्रमणको असर पर्यटनको पनि एअरलाइन्स, होटल र ट्राभललाई पर्न गएको बताउदै तारेस्तरका होटल सञ्चालनमा अन्तराष्ट्रिय हवाई सेवाको सञ्चालन अपरिहार्य भएपनि साना होटल व्यवसाय सञ्चालनको लागि आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन सकिने बताउनुभयो ।
उहाँले बैंकको ब्याजदर कम गर्ने, होटलका कर्मचारीहरुको सीप तथा क्षमता अभिबृद्धिको तालिममा सक्रिय गराउने र कोरोना संक्रमण सकिना साथ भारत र चीनमा पर्यटन प्रवर्धनको कार्यक्रम सञ्चालन गरेर यसको पुनरुत्थान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा होटल एशोसिएसन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले झण्डै १० देखि १५ खर्ब लगानी भएको होटल व्यवसाय अहिले निकै निराशाजनक अवस्थाबाट गुज्रनु परेको बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रले ‘सर्भाइभल’ र ‘रिभाइभल’को दुईथरी रणनीतिको माग गरेको बताउदै सोही अनुरुपको प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई आग्रह गर्न अनुरोध गर्नुभयो ।
२४ प्रतिशत विदेशी मुद्रा आर्जनमा सहयोग पुर्याउने देशको कूल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगट्ने र झण्डै ७ देखि ८ लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने होटल क्षेत्रलाई जोगाउन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योगपति अनुज अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन चालिएको लकडाउनका कारण कम किन्ने, कम उपभोग गर्ने र खर्च नगर्ने प्रवत्ति विकसित भएर अर्थतन्त्र मन्दितर्फ जाने जोखिम भएको बताउनुभयो ।
उहाँले कोरोना संक्रमणको कारण नेपालको उत्पादन र निर्यात क्षेत्र, वैदेशिक विप्रेषण आउने क्षेत्र र रोजगारीमा ठूलो नकारात्मक असर परेको बताउदै राम्रोसंग व्यवस्थापन गर्न नजानेमा आवश्यक पेट्रोलियम पदार्थ, औषधी बनाउने कच्चा पदार्थका आयातका लागि पनि विदेशी मुद्रा पर्याप्त नहुने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा उद्योगपति अग्रवालले अर्थतन्त्र जोगाउन समयमा उपयुक्त कदम लिन आफूहरुलाई अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंकका प्रतिनिधिहरुले सुझाव दिएको बताउदै भन्नुभयो, ऋण पनि छिटो लिनुस र उपयुक्त ठाँउमा खर्च गर्नुस भन्ने उहाँहरुको सुझाव छ । यसमा बिलम्ब गरिनु हुँदैन ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यो आर्थिक बर्षको निर्माणको सिजन (फागुनदेखि जेठसम्म) नै कोरोनाको कारण लकडाउन झेल्न परेकोले निर्माण व्यवसायमा अकल्पनीय क्षति भएको बताउनुभयो । उहाँले १७ हजार निर्माण व्यवसायीले सिर्जना गर्ने झण्डै २० लाख रोजगारी यसबाट प्रभावित भएको बताउनुभयो ।
उहाँले लकडाउनका कारण देशभर सञ्चालित ५ हजार वटा विकास निर्माण आयोजना प्रभावित भएको बताउनुभयो ।
अब कार्तिक अगाडि विकास कार्य सञ्चालन गर्न नसकिने बताउदै अध्यक्ष सिंहले निर्माण व्यवसायीले विभिन्न बैंकहरुबाट लिएको ३ खर्ब ४१ अर्ब कर्जाको साँबा ब्याज भुक्तानीका बारेमा पनि सरकारले विचार गर्नुपर्ने बताउनुभयो ।
उहाँले आउने बजेटमा नेपालभित्रका विकास निर्माण र परामर्शका काममा नेपाली निर्माण व्यवसायी र इञ्जिनियरहरुलाई प्रोत्साहित गर्ने नीति र कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । विकास र निर्माण आयोजनाहरुलाई साना साना टुक्रा बनाएर धेरै निर्माण व्यवसायीले काम पाउने, पूँजी र कामको अनुभव कम बनाएर सहभागीता बढाउनु पर्ने, निर्माण क्षेत्रमा स्वदेशी जनशक्तिलाई दक्ष बनाउन तालिम दिनुपर्ने जस्ता सुझाव दिनुभयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कूल गार्हस्थ उत्पादनको २५ देखि २७ प्रतिशत हिस्सा ओगट्ने वैदेशिक रोजगारीमा कालो बादल देखिएको उल्लेख गर्दैविदेशबाट फर्कने र स्वदेशमा बेरोजगार रहेको झण्डै २५ लाख श्रमशक्तिको उपयोग गर्ने कार्यक्रम आगामी बजेटले दिनुपर्ने बताउनुभयो ।
उहाँले स्वदेशमा उत्पादित विद्युतको उपभोग बढाउने नीति लिएर पेट्रोलियम आयातमा हुने बार्षिक २ खर्ब १६ अर्बभन्दा बढीको खर्च घटाउने, कृषिलाई प्रोत्साहन दिएर चामल आयातमा हुने ३२ अर्ब, तरकारी आयातमा जाने १५ अर्ब पशुपंछीजन्य उत्पादनमा जाने ३ अर्ब तथा बालबालिकाको खाद्यमा जाने ७ अर्बभन्दा बढी रुपैया जोगाउन सकिने संभावना पनि औल्याउनु भयो ।
नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालद्धारा सञ्चालित सो कार्यक्रममा काग्रेस सभापतिले अर्थतन्त्रको विभिन्न क्षेत्रमा सक्रिय व्यवसायिक नेतृत्वबाट उपयोगी सुझावहरु आएको र देशको अर्थतन्त्रलाई मन्दीमा जानबाट रोक्न प्रतिपक्षीको पनि दायित्व भएकोले बजेट निर्माणको तयारीमा सरकारलाई गहकिलो सुझाव दिन कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो ।


















