काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री के.पी.शर्मा ओलीका अभिव्यक्ति र कार्यशैलीबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरु हैरान हुन थालेका छन् । शरीरमा आफ्ना निकम्मा दुई मृगौलाका अतिरिक्त दुई महिला दाताहरुको मृगौला उनेर बस्नुभएका प्रधानमन्त्री ओलीका अभिव्यक्ति छिनछिनमा बदलिन थालेका छन् । विगतमा आफ्नो बोलीमा अडान कायम राख्ने नेतामा गनिनु हुने प्रधानमन्त्रीमा जीवनको उत्तरार्धमा आएको परिवर्तनले राज्य सञ्चालनमा त असर पारेको छ नै एक बर्ष पहिले एकीकृत भएको पार्टीका संयन्त्रहरु सुचारु रुपमा सञ्चालन हुन पनि कठिनाई उत्पन्न भएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठक पनि प्रधानमन्त्री ओलीको मधौरु शरीर र सोंचको शिकार बन्यो । सचिवालय बैठक सुरुमा नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गर्नुभएको थियो । उहाँले कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट जोगाउनको लागि देशमा आरम्भ भएको लकडाउनको कारणबाट सिर्जित परिस्थितिलाई सम्हाल्न प्रधानमन्त्रीले बिशेष पहल लिन आवश्यक भएको र उहाँले पार्टी सञ्चालनमा ध्यान दिन सक्ने अवस्था नरहेकोले एक व्यक्ति एक पदीय जिम्मेवारीको प्रस्तावलाई व्यबहारमा उतार्न आवश्यक भएकोले भोलि बस्ने स्थायी समितिको बैठकमा सो अनुरुप प्रस्ताव पेश गर्न उचित हुने अभिव्यक्ति दिनुभएको थियो ।
पहिलो वक्ता वरिष्ठ सदस्य माधव नेपालको प्रस्तावमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए पनि प्रधानमन्त्री ओलीले माहोल आफ्नो विपक्षमा जाने महसुस गर्नुभयो । गत बैशाख २० गते आफ्नो पक्षमा आएको सचिवालयका अधिकांश सदस्यहरुको अभिव्यक्ति आफ्नो विपक्षमा जान थालेको र स्थायी समिति बैठकबाट पार्टीको विधि र पद्धति तय गरी सो अनुरुप पार्टी सञ्चालन गर्नुपर्ने बन्धन तयार पार्न खोजेको देखिएपछि प्रधानमन्त्री ओलीले आफूलाई एक्ल्याउन खोजिएको आरोप लगाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले केही समय आफूविरुद्ध प्रस्तुत भएका तर्कहरुको खण्डन गर्दै पार्टी विधि र प्रक्रियाअनुरुप चलेको दावी गर्नुभयो र निश्पक्ष भएर परिस्थितिको मूल्यांकन गर्न पनि अनुरोध गर्नुभयो ।
बैठकमा भनाभनकै स्थिति उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेश फिर्ता गरी राष्ट्रपतिबाट समेत खारेज भैसकेकोले स्थायी समिति बैठकको आवश्यकता नै नरहेको धुर्की लगाउनुभयो र बैठक कक्षबाट बाहिरिनुभयो ।
प्रधानमन्त्री ओलीले बैठककै औचित्य नभएको बताएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई सदस्यले बैठकको माग गरिसकेकोले बैठक बोलाउनै पर्ने अडान लिनुभएको थियो । उहाँले पार्टीमा विधि र पद्धति भन्दामाथि कोही पनि हुन नसक्ने भन्दै एजेण्डा तय गरेर बैठक निर्धारित समयमा गर्दा सरकार र पार्टी दुवैको सुसञ्चालनमा सहयोग हुने तर्क राख्नु भएको थियो ।
प्रधानमन्त्री बैठकबाट बाहिरिए पछि पनि सचिवालयका अन्य ९ सदस्यबीच छलफल भएको थियो । करिब एक घण्टापछि ६ बजेतिर फेरि बैठक कक्षमा प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली ‘एक व्यक्ति एक प्रमुख पद’मा आफ्नो सहमति नरहेको भन्दै ‘जे मन लाग्छ त्यही गर्नुस्’ भन्दै पुन घुर्की लगाउन थाल्नुभएको थियो ।
बैठकमा असहज अवस्था आएपछि अन्य सदस्यहरुले दुई अध्यक्षलाई आपसी सहमतिले कुरा मिलाउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको आक्रोशको पारो घट्ने छाँट नदेखिएपछि अर्का अध्यक्ष प्रचण्डले उहाँसँग थप छलफल गरेर सहमतिको आधारमा एकदुई दिनभित्रै स्थायी समिति बैठक बोलाउन प्रस्ताव गरेपछि आजको सचिवालय बैठक र भोलि हुने स्थायी समितिको बैठक स्थगित गर्ने निर्णय भएको थियो ।
आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट विस्थापित गर्न खोजिएको चाल पाउनुभएका प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा दुई हावादारी प्रस्ताव फालेर बैशाख १७ र २० गतेको सचिवालय बैठक पार लगाउनुभएको थियो । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने, पार्टीको अध्यक्षको सम्पूर्ण अधिकार उपयोग गर्न पाउने अधिकार प्रचण्डलाई दिने र पार्टीमा तृतीय अध्यक्षको स्थान सिर्जना गरी माधवकुमार नेपाललाई सो पदमा विराजमान गराउने उहाँको सुलहले दुई बैठक त पार लगाएको थियो ।
तर सचिवालय बैठक सकिएको तीनदिनसम्म पार्टीको कार्यकारी अधिकार दिनेतर्फ प्रधानमन्त्रीले कुनै पहल नगरेपछि आक्रोशित हुनुभएका अर्का अध्यक्ष प्रचण्डले जब एक व्यक्ति एक पदीय जिम्मेवारीको पक्षमा आफूलाई उभ्याउनुभयो , सचिवालयमा प्रधानमन्त्रीको पक्षमा सहज वाताबरण बनेन । आफ्नो बहुमत रहेको सानो सचिवालयको बैठकमा नै अपमानित महसुस गर्नुभएका प्रधानमन्त्रीले यथावस्थामा स्थायी समितिको बैठकमा पेश भएमा अध्यक्ष पद संकटमा पर्न सक्ने जोखिम देख्नुभयो । बैठक छोडेर एक घण्टा बाहिरिनुभएका प्रधानमन्त्रीले आफ्ना राजनीतिक सल्लाहकारहरुसंग यसमा परामर्श गरेपछि आफ्ना विरुद्ध रचिएको चक्रव्यूहमा नपस्नु नै उचित ठहर्याउदै बैठक स्थगित गर्ने माहोल बनाउनुभयो र सोही अनुरुपको निर्णय पनि भयो ।
मिति समेत तय भएको तर एजेण्डा तय हुन बाँकी रहेको स्थायी समितिको बैठक एकाएक रोकिए पछि प्रचण्ड बहुमतमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारमा सुधारको संभावना देखेका र नेपालको सबैभन्दा ठूलो पार्टीलाई संगठित,मर्यादित र अनुशासित बनाएर अर्को चुनाव जित्ने सपना देखेका नेकपाका नेता तथा कार्यकर्ताहरु निराश भएका छन् ।
संसदको अधिवेशन नरहेको समयमा निर्धारित भैसकेको बैठक रोक्ने प्रधानमन्त्रीले संसदको बजेट अधिवेशन प्रारम्भ भैसकेको, प्रदेश सभाहरुको बजेट अधिवेशन आरम्भ हुने बेला भएकोअवस्थामा तुरुन्तै स्थायी समितिको बैठक बोलाउने सदासय देखाउनु होला भनेर विश्वस गर्ने ठाँउ छैन । उहाँको कार्यशैली हेर्दा उहाँ श्री ३ महाराजा जस्तो भैसक्नुभएको छ, न उहाँमा आफ्नो, आफ्नो सरकारको, आफ्ना सल्लाहकार समूहको आलोचना सुन्ने धैर्यता छ न आफू नै सुध्रिन चाहानु हुन्छ । उहाँमा सुधारको गुञ्जायस छैन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री एक भयानक ठक्कर र दुर्घटनातर्फ अगाडि बढिरहनुभएको छ । रोक्ने, छेक्ने र सुधार्ने शुभचिन्तकहरु सबैलाई उहाँले बैरी देख्न थाल्नुभएको छ ।


















