Prakash Adhikari May 15, 2020

 

काठमाडौं, २ जेठ ।आर्थिक वर्ष २०७७-७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।

शुक्रबार अपराह्न ४ बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणको लागि सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको प्रवक्ता पाण्डेले बताउनुभयो ।
नेपालको संविधानले प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद रहने व्यवस्था गरेको छ ।

New session of Federal Parliament commences: Full Video

बैठक कक्षमा नअटेका सांसदलाई बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ ।
संसद सचिवालयले उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कुटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ ।

२०७४ को आम निर्वाचनपछि सत्ता सम्हाल्नुभएको प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ ।

संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

सरकारले बजेटका नीति तथा सिद्धान्तहरुमाथि संसदमा छलफल सम्पन्न गरिसकेको छ ।

Share Now

Leave a comment.