Prakash Adhikari May 30, 2020

 

काठमाडौं, १७ जेठ । यही जेठ २० गतेसम्म निर्धारित लकडाउनको समयावधि जेठभर लम्ब्याइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

भारतमा लकडाउन खुकुलो पारेर त्यहाँ रहेका नेपालीलाई आफ्नो घर फर्कने अवसर दिएपछि नेपाल आइपुगेका प्रवासी नेपालीहरुसंगै कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो निर्णय लिएको हो।

सरकारले पछिल्लो पटक गत ४ जेठको निर्णयानुसार यही जेठ २० गतेसम्मका लागि लकडाउन थपेको थियो।

सरकारले चैत्र ११ देखि १८ सम्म लागू गरेको लकडाउन, त्यसपछि चैत्र २५, बैशाख ३, बैशाख १५, बैशाख २५, जेठ ५ हुँदै जेठ २० सम्म बढाएको थियो ।

शनिबार एकै दिन देशभर २ सय ८ जना नयाँ संक्रमित भेटिएको लकडाउनको समयावधि लम्ब्याइएको हो ।

आजको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ।

यसअघि शुक्रबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा अड्किएका नेपालीलाई प्राथिमकताका आधारमा अर्को सातादेखि जहाज पठाएर ल्याउने निर्णय लिएको थियो।

सो कार्यविधि शनिबारको मन्त्रिपरिषद्‍मा पेश गरिएको थियो। सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ।

उनीहरुलाई काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखेपछि कोरोना भाइरस संक्रमण नेगेटिभ भेटिएमा आआफ्नो घर जान दिइने छ ।

Share Now

Leave a comment.