Prakash Adhikari May 30, 2020

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको नयाँ राजनीतिक नक्सा अनुरुप संविधानको अनुसूचीमा राखिएको निशाना छापको नक्सा परिवर्तन गर्न प्रतिनिधिसभामा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

नेपाली काग्रेसको केन्द्रीय कार्यालय सानेपामा शनिवार बसेको केन्द्रीय समितिको बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिने निर्णय गरेको हो।

शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले पनि पनि भारतले हडपेको भूमि समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको थियो ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको काग्रेस नेता गगन थापाले आफ्नो ट्वीटरमा जनाउनुभएको छ।

सुगौली सन्धी अनुरुप नेपालको स्वामित्वमा रहेको पश्चिमोत्तर सीमाका काली नदीपूर्वका लिप्पियाधुरा, कालापानी, लिपुलेक र सो क्षेत्रमा रहेका गुञ्जी, नाभी, कुटी लगायतका मानवबस्ती सहितको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेसले संसदीय दललाई निर्देशन दिएको छ ।

कांग्रेसको यो निर्णयसँगै अब संविधान संशोधन हुने सुनिश्चित भएको छ। संविधान संशोधानका लागि संसदको दुईतिहाइ बहुमत आवश्यक हुन्छ। राप्रपाले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णयसँगै अध्यावधिक गरिएको नक्साअनुसार निशान छापलाई परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकका लागि तयार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले उक्त विधेयक पेस गर्ने कार्यक्रम उल्लेख गरिएको छ।

प्रतिनिधि सभाको बैठक आइतवार बिहान ११ बजे बस्‍ने भएको छ।

Share Now

Leave a comment.