Prakash Adhikari June 7, 2020

 

काठमाडौं, २५ जेठ । नेपालमा जारी लकडाउन पूरै हटन तीन महिना लाग्ने भएको छ । आम जनताको जनजीवन सामान्य बनाउन लकडाउन खुकुलो बनाउदै हटाउने उपाय सुझाउन गठित समितिहरुले सरकारलाई दिएको सुझाव अनुसार असार महिनाको प्रारम्भदेखि लकडाउन क्षेत्रगत रुपमा खुकुलो पारिदै लगिने छ र भदौंको तेस्रो साता सावधानीपूर्वक लकडाउन पूर्णतः हटाइने छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले तयार पारेको आन्तरिक प्रस्तावमा लकडाउनलाई ६ चरणमा खुुकुलो बनाउदै पूर्ण रुपमा खोल्न उचित हुने सुझाब दिइएको छ ।

समितिले संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने र क्रमिक रुपमा खुकुलो पार्दै जाने नीति र कार्यक्रम अबलम्बन गर्न उपयुक्त हुने सुझाव कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिलाई दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त समितिलाई दुई दिनभित्र लकडाउन खुकुलो पार्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो।

निर्देशन अनुसार शुक्रबार बसेको उच्च स्तरीय समितिको बैठकमा असार १ देखि भदौ अन्तिमसम्म सावधानीपूर्वक सबै क्षेत्र खुला गर्ने कार्ययोजनामा छलफल भएको थियो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) ले तयार पारेको सो कार्ययोजनामा असार १ देखि आन्तरिक हवाई उडान खुलाउन सकिने उल्लेख छ।

कार्ययोजनामा पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामग्री वितरण केन्द्रहरू, दूध, अन्नबाली, तरकारी, फलफूल, सम्पूर्ण कृषिजन्य उत्पादन कार्य आशिंक खोल्ने प्रस्ताव गरिएको छ। यस्तै, दैनिक उपभोग्य सामग्री बिक्रीवितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै जिल्लाभित्रका छोटो दूरीका सवारीसाधनमा ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइनेछ।

दोस्रो चरणमा पहिलो चरणको अनुभवका आधारमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने, जिमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय आंशिक रूपमा खोल्न दिने प्रस्ताव गरिएको छ।

तेस्रो चरणमा दोस्रो चरणमा खुलेकासहित सबै निजी सवारीसाधन सञ्चालन गर्न दिइनेछ। सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र बिजोर नम्बर प्रणालीका आधारमा निजी सवारीसाधन सञ्चालन गर्न दिइनेद्ध। यो चरणमा लामो दूरीका सार्वजनिक यातायातलाई पनि ५० प्रतिशत यात्रु राखेर चलाउन दिने प्रस्ताव गरिएको छ।

चौथो चरणमा कोरोना संक्रमण भएका र नभएका जिल्ला छुट्याई संक्रमणरहितमा शिक्षा क्षेत्रबाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ। यो चरणमा धार्मिक स्थल, जमघटस्थलबाहेक सबै खुला गर्ने प्रस्ताव छ।

पाँचौ चरणमा भदौ पहिलो साताभित्र विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवा, सूचना तथा सञ्चार, बैंकिङ तथा वित्तीय संस्था, खेलकुद, धार्मिकस्थल, सरकारी तथा निजी कार्यालय खुलाउने प्रस्ताव कार्ययोजनमा छ।

घरेलु तथा साना उद्योग, ठूला उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनालगायत खुला गर्ने प्रस्ताव छ।

छैटौं चरण भदौ ८ देखि २१ सम्मलाई मानिएको छ। त्यस अवधिमा सावधानीपूर्वक लकडाउन पूर्ण र व्यपस्थित रुपले खुला गर्ने प्रस्ताव गरिएको छ।

सिसिएमसीले प्रस्ताव गरेको कार्ययोजनामा आवश्यक छलफल गरी मन्त्रिपरिषद्मा लैजाने उच्चस्तरीय समन्वय समिति स्रोतले जनाएको छ।

लकडाउन खुकुलो पार्नुपर्ने भन्दै सर्वसाधरण र साना व्यवसायीले पसल खोल्न थालिसकेका छन्।

काठमाडौं, धनगढी, सुर्खेत, जनकपुरलगायत सहरमा बिहीबारदेखि आंशिक रुपमा पसल खुलाउन थालिएको छ। काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा प्रहरीले निजी सवारीसाधन जाँचमा खुकुलो पारेको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरुको बिहीबारको बैठकले लकडाउन खुकुलो पार्न उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिएको छ।

Share Now

Leave a comment.